काठमाडौं, ५ वैशाख । पाँच दिने भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजकीय सम्मान दिइएको छ । मंंगलबार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे ।
मंगलबार बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर तथा स्वागत कार्यक्रम राखिएको छ । ९ः३० मा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्ने र १० बजे जगतपुर रोडस्थित यमुना जैविक विविधता पार्क भ्रमण गर्ने पनि तय भएको छ ।
त्यहाँबाट राष्ट्रपति भवन फर्केपछि शिष्टाचार भेटवार्ता सुरु हुनेछ । राष्ट्रपति भवनको नर्थ ड्रविङ रुममा सुरुमा राष्ट्रपति भण्डारीलाई ११ः३० बजे भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि १२ः१५ बजे गृहमन्त्री राजनाथ सिंहले भेटवार्ता गर्नेछन् ।
दिउँसो उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्ने र दिवाभोज सकेर राष्ट्रपति भवनमा फर्केपछि भण्डारीसँग ३ः४५ बजे वित्त तथा रक्षामन्त्री अरूण जेट्लीले शिष्टाचार भेट गर्नेछन् ।
अपरान्ह ४ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । भेट राष्ट्रपति भवनको नर्थ ड्रविङ रुममा हुनेछ । साँझ ५ः३० बजे उपराष्ट्रपति हमिद अन्सारीले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति मुखर्जीसँग साँझ ७ः३० बजे भेट हुनेछ । त्यसपछि मुखर्जीले दिएको रात्रीभोजमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ । रात्रीभोजमा मुखर्जी र भण्डारीले सम्बोधन गर्नेछन् ।