सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्नेबारे शिक्षा मन्त्रालयले अझै केहि खुलाएको छैन।
९ दिनदेखि काठमाडौं आएर प्रदर्शन गरिरहेका शिक्षकहरूले वार्ताका लागि सरकारले वातावरण नै नबनाएको बताएका छन् । बिहीबार शिक्षा मन्त्रालयमा दुवै पक्षबीच छलफल भए पनि कुनै ठोस सहमति भने हुन सकेन । बिहीबार महासंघका तर्फबाट शिक्षामन्त्री विद्या भट्टराईलाई वार्ताको वातावरण बनाउन र विगतका सहमति कार्यान्वयनबारे सरकारको प्रस्ट धारणा आउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको छ । महासंघका सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासचिव तुलाबहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल रहेका थिए ।
प्रतिनिधिमण्डलले पुराना सहमति र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची समेत बुझाएको छ। छलफलमा शिक्षामन्त्री भट्टराई, शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेसहित ४ जना सहभागी थिए । शिक्षक महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले आफूहरूले एजेन्डा बुझाउन मात्र गएको बताए । शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले आजको छलफलमा कुनै ठोस सहमति नभएको बताए।
दुवै पक्ष आन्तरिक छलफलपछि वार्ता हुने उनको दाबी छ । शिक्षामन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि शिक्षा ऐन जारी गर्ने विषयमा तदारुकता नदेखाएको जनाइएको छ । त्यस्तै संसद्को हिउँदे अधिवेशन अनुमानित मितिभन्दा अगावै अन्त्य गरेको उल्लेख गर्दै महासंघले सरकार विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर नरहेको आरोप लगाएको छ ।
‘आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गरिने छ’ वार्तामा सहभागी शिक्षा मन्त्रालय सचिवालयका एक सदस्यले भने । वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी थियो । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली सहभागी थियो । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर प्रदर्शन गरेका थिए । तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग ठेलाठेल समेत भएको थियो ।
गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।
त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।
म्यानमार । नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।
भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । नाय पिटाव अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् ।
सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत थिए । त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यानमार सरकारले गरेको सहयोग स्मरण समेत गरे ।
‘म्यानमारमा भूकम्पले ठूलो क्षति गरेको छ, यस्तो अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री यहाँको सरकारलाई उपलब्ध गराइएको हो’, सहसचिव अधिकारीले भने, ‘नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ, यसप्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।’
त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिए। उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिएका थिए । उनका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छ भने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन् ।
म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपालीभाषी म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिए । म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही मार्च २८ मा सात दशमलव सात रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो । ‘भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरुको खोजी भइरहेको छ, घाइतेहरुको उपचार जारी छ’, राजदूत घिमिरेले भने ।
म्यानमारस्थित नेपालीहरूको छाता संगठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएको पनि उनले जानकारी दिए । नेपाली सेनाको चिकित्सकको टोलीले विगत सात दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ । नेपाली सेनाको टोलीले हालसम्म एक हजार ३०० भन्दा बढीको उपचार गरिसकेको उनले जानकारी दिए । उनका अनुसार उक्त टोलीले आठ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ ।
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ।
ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–२ अमाह खोलाको करोडौंको पक्की पुल चैतको भलले भत्काइ दिएको छ । मिर्चैया–कटारी–घुर्मी सडक योजनाअन्तर्गत निर्माणाधीन सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो निर्माणाधीन पक्कीपुल बुधबार रातिको बाढीले बीचैमा भाँचिदिएको हो ।
बेमौसमी पानी परेको र त्यसैको बाढीका कारण पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पुगेको योजना प्रमुख पशुपति ज्ञवालीले बताए । उनले भने भने, ‘प्रिस्थेस प्रविधिको उक्त पुलले लोड लिनका लागि ढलान भएको २८ दिनपछि केबल हाल्नुपर्ने थियो । ढलान भएको २० दिन मात्रै भएको थियो, २८ दिन पुगेपछि केबल राखेर तानेपछि मात्रै पुलले लोड बहन गथ्र्यो । यस्तो मौसममा पानी आउँछ भन्ने कसैलाई अनुमान भएन, अचानकको वर्षाले ह्यूमपाइपबाट बग्ने भन्दा ठूला बाढी आएर पुलमा क्षति भयो ।’
सूर्य कन्सट्रक्सन धरानको जिम्मामा रहेको उक्त पुल तयार नहुँदै बाढीले क्षति गरेपछि स्थानीयले पुनः वर्षामा बाढीकै सामना गर्नुपर्ने भएको छ । प्रमुख ज्ञवालीले पुल भत्किनु प्राविधिक त्रुटि नभई अप्रत्याशित मौसम भएको बताएका छन् ।
भत्किएको पुल पुनर्निर्माणको दायित्व निर्माण कम्पनीकै हुने उनले बताए । उनले भने, ‘पुलको इन्स्योरेन्स रहेकाले उक्त क्षतिको ‘कभर’ त्यहीँबाट हुन्छ, तर, त्यसका लागि समय लाग्छ ।’ पुरै भत्काएर बनाउनु पर्ने भएकाले यो वर्ष पुल बन्न सक्ने अवस्था नरहने उनले बताए । ‘हाम्रो योजना यो वर्षामा यातायात चलाउने भन्ने नै थियो,’ उनले भने, ‘प्रकृतिले साथ दिएन अब अर्को वर्षका लागि लम्बियो ।’
सडक विभागले ७२ किलोमिटर लामो मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति तथा विस्तारका लागि ईआईए स्वीकृत गरेर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । त्यसका लागि करिब ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको जनाइएको छ। योजना अन्तर्गत ४ वटा लामो पुल र ७ वटा सानो पुल, २ सय ८९ वटा पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने छ ।
गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, ‘फूल, अक्षता, भेटी अनि नैवेद्य ।’ कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ ।
गोरखा नगरपालिका–५, पस्लाङस्थित नाम्रुङदेवी थानमा पूजाआजा गरेर ‘दाम्लो’ चढाउने सयौं वर्षदेखिको चलन अहिले पनि कायमै छ । ‘गाईवस्तु बिरामी भएमा वा ब्याउन गाह्रो भएमा नाम्रुङदेवीको भाकल गर्छौ’, मन्दिरको पुजारी समेत रहेका स्थानीय जुनबहादुर रानामगर भन्छन्, ‘अनि आफूलाई अनुकूल समय मिलाएर थानमा पूजा गरेर दाम्लो चढाउने चलन छ । भाकल गरेपछि अहिलेसम्म पूरा पनि भएको छ ।’
मन्दिरमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेको उनले बताए । ‘गोरखा, तनहुँ, लमजुङ, चितवनबाट यहाँ पूजा गर्न र दाम्लो चढाउन आउँछन्’, उनले भने । किसानले पशुपालन फस्टाउन्, बालीबाली राम्रो होस्, रोगव्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरी दाम्लो चढाउने गरेको उनको भनाइ छ। नाम्रुङदेवीथानमा स्थानीय जातको कुखुराको अण्डा गाडेर मौसम परीक्षण गर्ने चलन पनि छ ।
‘यहाँ हरेक वर्ष चण्डी पूर्णिमाको दिन दुईवटा लोकल कुखुराको अण्डा गाड्ने चलन छ’, उनले भने, ‘अर्को वर्षको चण्डी पूर्णिमामा त्यसलाई निकाल्दा जस्ताको तस्तै रह्यो भने त्यो वर्ष शुभ हुन्छ भन्ने विश्वास गरिन्छ। अण्डा बिग्रियो, कुहियो भने अशुभ हुन्छ भनेर अनुमान गरिन्छ।’ अण्डा बिग्रिएमा हुरीबतास, असिनापात, भेल, बाढी, वर्षा, डढेलो वा महामारीले गाउँलेलाई दुःख दिने जनविश्वास छ ।
यहाँ दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने एकिन नभए पनि तनहुँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिने गोरखा सङ्ग्रहालयका पूर्वकर्मचारी, इतिहासका जानकार गणेशप्रसाद भट्टराई बताउँछन् । उनका अनुसार नाम्रुङदेवीथानमा असारको पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने चलन छ । दैनिक नियमित पूजा पनि हुने गर्छ । पूजारी भने मगर समुदायबाट चुनिन्छन् । यहाँ कुखुरा, परेवा, बोका पाठा बलि चढाइने भट्टराईले बताए । पहिले सरकारले पूजा खर्च दिने गरेकामा केही वर्षयता खर्च कटौती गरिएको छ ।
काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।
यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।
३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने महासँघको भनाई छ ।
आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।
महासंघले सहअध्यक्ष पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।
गत चैत्र २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय छिर्न नदिन महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे नेतृत्वका प्रहरीले गरेको अनुशासनहीन व्यवहारका बारेमा सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
बिहीबार काठमाडौँ महानगरमा कार्यरत कर्मचारी तथा पेसागत संगठनले नगर कार्यपालिकासमक्ष उक्त मागसहित ११ बुँदे माग राखेका हुन् ।
सङ्गठनहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिन आह्वान गरेका छन् । साथै महानगर प्रहरी बलका प्रमुखलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गरेका छन् ।
काठमाडौं । आन्दोलनरत शिक्षकहरूले बानेश्वर सडकका तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको हो ।
तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन् । सरकारले पटक–पटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन् । विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ । शिक्षकहरूलाई एउटा लेनमा मात्र प्रदर्शन गर्न प्रहरी प्रशासनले आग्रह गर्दै आएको थियो ।
काठमाडौं । नेपाल बार एशोसिएसनको मतगणना सकिएको छ । यद्यपि, ललितपुरको ‘ट्याली’ गर्ने काम भइरहेको। अन्तिम मत परिणाम सार्वजनिक नहुँदै बार एशोसिएसनमा अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रको प्यानलबाट २५ मा २५ निर्वाचित भएका छन्।
कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसिएसनका अध्यक्षसहित १२, नेकपा एमाले निकट प्रगतिशील व्यवसायिक लयर्स एशोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपा निकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् । केही समयमा अन्तिम मतपरिणाम औपचारिक रूपमा सार्वजनिक हुने निर्वाचन अधिकृत तेजनाथ धमलाले जानकारी दिएका छन् ।
अब विजयको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । यसका लागि अहिले दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने जनाइएको छ । मिश्र नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपानिकट कानुन व्यवसायीका संगठनहरूको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार हुन् ।
उनको प्यानलबाट महासचिवमा केदारप्रसाद कोइराला छन् भने उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ उम्मेदवार छन्। अन्तिम नतिजा सार्वजनिक हुनुअघि नै उनीहरूको जित पक्का भइसकेको थियो । अध्यक्षका अर्का प्रतिस्पर्धी रमन श्रेष्ठ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्वपा निकट कानुन व्यवसायीको प्यानलबाट उठेका हुन् ।