एजेन्सी, ६ बैशाख । बेलायती प्रधानमन्त्री टेरिजा मेले तोकिएको समय अगाडि नै आम निर्वाचन गर्ने घोषणा गर्नु भएको छ । मेले आगामी जुन ८ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गर्नु भएको हो ।
देशलाई स्थायित्वमा लैजानका लागि भन्दै उहाँले जुन ८ मा मध्यावधि चुनाव गर्न लागेको बताउनु भएको छ । प्रधानमन्त्रीको निर्वाचनको प्रस्तावमाथि त्यहाँको संसदमा मतदान हुनेछ । विपक्षी दल लेबरले पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गर्ने बताएको बीबीसीले जनाएको छ ।
यसअघि मेको कार्यालयले सन् २०२० भन्दा अघि चुनावको सम्भावनालाई बारम्बार नकार्दै आएको थियो । बेलायतमा कन्जरभेटिभ सरकारको अवधि २०२० सम्म छ । मेले हालै यूरोपेली संघबाट अलग्गिने औपचारिक प्रक्रिया सुरु गर्ने एक अध्यादेशमा हस्ताक्षर गर्नु भएको थियो ।
बेलायतको ‘फिक्स्ड टर्म पार्लियामेन्ट्स एक्ट’ अनुसार हरेक पाँच वर्षपछि मे महिनामा आम चुनाव गराइन्छ । आफ्नो पार्टीले चुनाव जित्नेमा ढुक्क भएर प्रधानमन्त्री मेले मध्यावधि चुनाव घोषणा गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।