२०८२ जेष्ठ २ गते बिहीबार
२०८२ जेष्ठ २ गते बिहीबार

हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास छन्।

ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो ।

दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत छन् । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उनलाई गोली लागेको थियो ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन् ।

शुक्रवार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शिक्षकहरू भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताएका हुन् ।

आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताए । उनले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरूले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताए ।

उनले भने ‘शिक्षकहरू प्रदर्शनमा हुनुहुन्छ । मैले अस्ति पनि भनेको थिए । प्रदर्शनमा गइरहनुपर्ने थिएन । ऐन पहिलेदेखि रोकिएर बसेको छ । त्यसलाई हामी तुरुन्तै ल्याउँछौ भनेर भनिराखेका छौं । उपयुक्त ढंगले ऐन ल्याउँछौँ । आफ्ना मात्रै हितहरूलाई हेरेर हुँदैन, राष्ट्रहित कसरी हुन्छ, राष्ट्रको क्षमता के छ ? राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराहरूको समाधान खोज्नुपर्छ । शिक्षक साथीहरूलाई म भन्न चाहन्छु भावना बगेर मात्र समस्याको समाधान हुँदैन । सरकार हरेक समस्याको समाधान गर्न चाहन्छ, तपाईँका समस्या पनि समाधान गर्न चाहन्छ । तपाईँहरूले पनि बुझ्नुपर्‍यो नि ।’

मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उनको दाबी छ । उनले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरूले रुवाबासी गरेको टिप्पणी गरे ।

काठमाडौं । नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौँमा बिहीबारदेखि चलिरहेको वार्ता सम्पन्न भएको छ।

दुवै पक्षले भन्सार प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएका छन् । नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए।

त्यस्तै आयात–निर्यातसम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सारसम्बन्धी आपसी सहयोगसम्बन्धी सम्झौता अगाडि बढाउने र सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवद्र्धन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन । नेपाल–भारत सीमा क्षेत्रमा क्वारेन्टिन सुविधाको विस्तार गर्ने, तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउने–जाने रेलमार्ग व्यापारमा प्रयोग हुँदै आएको विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली (इसिटिएस) लाई सडकमार्ग (ट्रक) मा समेत विस्तार गर्ने र लागत घटाउने सहमति भएको छ।

भैरहवा र चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँचचौकी (आइसिपी) हरू शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउने तथा विराटनगरमा रेल कार्गो सेवा सञ्चालन गर्ने लगायतका विषयमा छलफल एवं सहमति भएको जनाइएको छ। यही चैत २८ गते सुरु भएर आज सकिएको वार्तामा नेपालको वार्ता टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका थिए भने भारतका तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका थिए।

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।  

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।  

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन्। उनी चैत १५ गतेदेखि नै फरार थिए। बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज शुक्रबार नेपाल-भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो। 

प्रहरीले भद्रपुरबाट विमानमार्फत ल्याइ अदालतमा पेस गरेको हो।

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईविरुद्ध ज्यान मार्ने उद्योगसहित चार कसुरमा मद्दा चलाउने तयारी अघि बढाइएको छ । प्रसाईले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईविरुद्ध जाहेरी दिने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ। प्रसाईलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ । भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याएको छ । गत १५ गते तीनकुनेमा भएको प्रदर्शनयता फरार रहेका प्रसाईलाई बिहीबार राति प्रहरीले भारतबाट पक्राउ गरेको थियो।

ज्यान मार्ने उद्योग

प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाई आफैले पनि प्रहरीको भिडलाई किचौंलाझैं गाडी कुदाएका थिए । त्यहाँ प्रहरीमाथि नै गाडी कुदाउन खोजेर ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाउन लागिएको हो ।

संगठित अपराध
प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुँदैछ । उनी प्रदर्शनकारीको कमाण्डर रहेको कारणले यसको निर्देशक र परिचालक उनी भएको आरोप छ । प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनी समेत गरेका थिए ।

आपराधिक उपद्रव र राज्यविरुद्धको कसुर
उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने बताइएको छ। यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणासहितलाई संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । सो आरोपमा रुपन्देही सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् । यस्तै थापाले सामाजिक सञ्जालमा पन्त परिचय खुल्ने कागजात समेत पोष्ट गरेका छन् ।

थापाले लेखेका छन्, ‘मलाई मध्यरात (११ः४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी ‘Life on threat cancel Rupandehi’ पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद छ । ऊ को रहेछ ? हेर्नुहोला !

तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो ।

विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।

उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक्षा स्रोतले जनायो । तर प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ ।

प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका लागि प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ ।

 

तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा प्रसाईं फरार थिए।

प्रसाईंलाई भारतको असामबाट झापा ल्याएर प्रहरीले नियन्त्रणमा लिएको थियो।

दाउन्नेको सडकमा हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा १६ घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध छ ।

‘राजमार्ग खुलाउने प्रयास जारी छ,’ उनले भने, ‘हिलोमा फसेका गाडी चिप्लिएका कारण राजमार्ग अवरुद्ध भएको हो । म यहीँ छु । हिलोमा फसेका कारण गाडि निकाल्नै सकिएन ।’ राजमार्गमा ग्राभेल र बालुवा हाल्दै गाडि हिँडाउने प्रयत्न जारी रहेको उनले सुनाए ।

बिहीबार दाउन्ने क्षेत्रमा परेको सामान्य वर्षाले राजमार्ग हिलाम्य भएको छ । राजमार्ग निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (चिनियाँ ठेकेदार कम्पनी) ले राजमार्गमा ग्राभेल नहालेका कारण दाउन्ने राजमार्गको १४ किलोमिटर खण्डमा समस्या भएको हो ।

राजमार्ग बिस्तार गर्न भनेर पिच भत्काएको ४ वर्षसम्म दाउन्नेमा ग्राभेल पनि नगरेका कारण धुलोले हैरान छ । दुम्कीबास बर्दघाट खण्डमा पर्ने १४ किलोमिटर पहाडी सडक खण्डमा ३ फिट माथिसम्म धुलैधुलो छ । बिहीबार परेको सामान्य वर्षाले त्यो धुलो हिलोमा परिणत भएपछि गाडी चिप्लिएर राजमार्ग खुलाउन नसकिएको हो । जिल्ला प्रहरी प्रमुख यादव ढकालले राजमार्ग मर्मत गर्न ठेकेदारसँग कुरा भएको र राजमार्ग खुलाउन दाउन्नेमै ३ दर्जन प्रहरी परिचालन गरिएको जानकारी दिए ।

भारतमा पक्राउ परेका तीनकुनेको हिंसात्मक आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईलाई जहाजबाट काठमाडौँ ल्याइने भएको छ।

दुर्गाका दाइ लक्ष्मी प्रसाईले उनलाई केहीबेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्‍याइने जानकारी दिएका छन् । घटनापछि फरार दुर्गा प्रसाईलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् ।

पूर्वी नाका काँकडभिट्टामा उनका दाजु, शुभ चिन्तक र कानुन व्यवसायीहरू भेला भएका छन्। मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरू उनको प्रतीक्षामा रहेको पत्रकार लक्ष्मी उप्रेतीले जानकारी दिए। त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी रहेको जनाइएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले भने यस बारेमा केहि पनि बताएका छैनन् ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाई बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन् । प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो । फरार भएयता उनले दुईटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए । तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए । प्रसाई भागे लगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै आसाम पुगेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।