नेपालगञ्ज ७ बैशाख । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १४ लाख बढी भारुसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट सीमावर्ती भारतीय बजार रुपईडिहातर्फ जाँदै गरेका उनीहरुलाई चौलिक्का चौकमा जाँचका क्रममा १४ लाख ८ हजार ८० रुपैयाँसहित पक्राउ गरिएको हो ।
संयुक्त टोलीले भारतीय ५ सय र १ हजारको नयाँ नोटसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारीले जानकारी दिए ।
पक्राउ परेका जुम्ला लाम्रा–१ हरिश्चन्द्र डाँगी र रुकुमकोट– १ सुनिता शाहीका साथबाट २ हजारको ४३६ थान, ५ सयको ९८२ थान, १ सयको ४४३ ५० को १२ २० को ३ र १० को १२ गरी १४ लाख ८ हजार ८० भारु बरामद भएको छ ।
प्रहरीले केहीदिन अघिमात्र नेपालमा अबैधरुपमा भारु कारोबार गरेको आरोपमा २० लाख ४६ हजार २ सय ८० भारतीय रुपैयाँ र ७ लाख ३३ हजार १ सय ४० स्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको थियो ।