काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पुसको स्ववियु सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् ।
नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही आइतबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको थियो ।
उक्त प्यानलबाट शाही सचिव पदमा निर्वाचित भएका थिए । उनै शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका एसपी बोहराका अनुसार, शाहीसहित ६ जना नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यहरूमा २३ वर्षीय मोहन सुनवार, २२ वर्षीय मनोज शर्मा, २२ वर्षीय आकाश खड्का, २० वर्षीय उमेश शर्मा २२ वर्षीय मिन रावल रहेका छन् ।
अस्कलका सचिव शाही भने यसअघि गत माघ २४ गते राति ठमेलमा ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि भएको कुटपिटमा पनि संलग्न थिए । सो घटनामा उनले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।