२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाई सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । तीनकुने घटनापछि फरार प्रसाईको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

अपरेशन डाइरेक्टर डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको बताइएको छ ।

यसअघि दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा निजी तथा सरकारी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको थियो । दुई जनाको ज्यानै गएको थियो ।

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

उनले आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षक आन्दोलन चलिरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएकी हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् ।शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव मागहरु सबै पूरा गर्ने बताउँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरेका हुन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’ प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको बताएका छन् । ‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन । सम्भव मागहरु सबै पूरा गर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् ।

‘उहाँहरुलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण मेरो आग्रह छ उहाँहरुलाई, वार्तामा आउनुस्, कुरा गर्नुुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस् ।’ यसअघि शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग आफ्ना मागबारे छलफल समेत गर्दै आएका छन् । तर सहमति नजुट्दा आज २० औं दिनसम्म पनि शिक्षकहरुले आन्दोलन जारी राखे । तर शिक्षकहरुले औपचारिक वार्ता गर्दैनौं भन्ने सुनेको बताउँदै प्रधानमन्त्रीले प्रश्न गरे, ‘अनौठै सुन्या छु मैले । आन्दोलन गर्ने वार्ता नगर्ने, के भन्या हो त्यो ?’

निजामती सेवामा रहेका कर्मचारीहरूले दोहोरो सुविधा लिन नपाउने भएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको संघीय निजामती विधेयकको प्रतिवेदनमाथिको छलफलका क्रममा दोहोरो सुविधा लिन नपाउने गरी व्यवस्था गरिने सभापति रामहरि खतिवडाले जानकारी दिए । 

निवृत्तिभरण, अन्य भत्ता वा राजनीतिक नियुक्ति पाएको पदको तलबमध्ये एक मात्र लिन पाउने र दोहोरो सुविधा लिइएको पाइए सरकारी बाँकी सरह असुलउपर गरिने व्यवस्था गरिने उनले बताए । त्यस्तै निवृत्तिभरण पाएको व्यक्ति भ्रष्टाचार, सरकारी किर्ते, राज्यविरुद्धको अपराध लगायतमा संलग्न देखिए निवृत्तिभरण दिने पक्षमा समिति नरहेको सभापति खतिवडाले उल्लेख गरे ।

त्यसअघि बैठकमा एमाले सांसद रघुजी पन्तले भ्रष्टाचारमा मुछिएकाहरूलाई पनि निवृत्तिभरण दिनुपर्नेमा उपसमितिमा कुनै सहमति नभएको उल्लेख गरे । उनले कसैलाई अन्याय नपर्ने गरी निजामती कर्मचारीलाई सेवा दिनुपर्नेमा मात्रै जोड दिएको उल्लेख गरे ।  

पन्तले उपसमितिको प्रतिवेदन पारित नै नभएको अवस्थामा समितिले अन्तिम रूप दिएपछि मात्रै सार्वजनिक गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारहरूलाई समिति बैठक खुल्ला राख्दा गलत सूचना प्रवाह हुने देखिएकाले अव बिचार गर्नुपर्ने अवस्था आएको धारणा राखे ।  

त्यस्तै कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडूले दोहोरो सुविधा लिन नपाउने कुरालाई कानुनमा स्पष्ट गर्नुपर्ने भएकाले उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए । छलफलका लागि उपसमितिको प्रतिवेदनमा समावेश गरेको विषयलाई अपव्याख्या गरेर सांसदहरूमाथि प्रश्न उठाउनु उचित नभएको उनले बताए ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारीलाई निवृत्तिभरण नदिने नभइ दोहोरो सुविधा भने रोक्नुपर्नेमा जोड दिएको स्पष्ट पारे । निवृत्तिभरण प्राप्त कर्मचारी राजनीतिक वा अरु नियुक्तिमा गए एउटामात्रै सुविधा रोज्न पाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।  

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि छलफल भएको हो । सरकारले २०८० साल फागुनमा उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । 

रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । सोही गाउँपालिका-१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् ।

रेग्मी गोरेटो बाटोबाट करिब ८/९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिएका छन् ।

मृतक रेग्मी गए राति दाजुको घरबाट करिब ८ ३० बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ । उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिएका छन् । रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।

तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुगेका रेग्मीका श्रीमती, चार छोरी र एक छोरा छन् ।

स्थानीय तहका राष्ट्रसेवक कर्मचारीहरूले संघीय निजामती सेवा ऐनमा आफ्ना मागहरू समावेश गराउन दबाब दिन चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। नेपाल सरकारले २०८० साल असोज २७ गते तत्कालीन स्थानीय तह कर्मचारी संघर्ष समितिसँग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले देशभरका ७५३ वटै स्थानीय तहमा विरोध कार्यक्रम अघि बढाउने घोषणा गरेको हो।

सञ्जालका अनुसार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा दर्ता भएका संशोधन प्रस्तावमा स्थानीय तहका कर्मचारीका मुद्दाहरू समावेश गरिनु पर्ने माग छ। तर सम्बन्धित समितिले सरोकारवालाहरूसँग छलफल नगरी विधेयक अघि बढाएको भन्दै उनीहरूको चर्को आपत्ति छ। सञ्जालले मुख्यसचिव एकनारायण अर्यालको पछिल्लो अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अभिव्यक्तिले कर्मचारीहरूको मनोबल घटाउने काम गरेको भन्दै उनले पदको गरिमा विपरीत बोलेको आरोप लगाइएको छ।

सञ्जालका महासचिव दिपक सिंह धामी र संयोजक दिपक गौतमद्वारा जारी विज्ञप्तिमा तीन चरणको आन्दोलनको घोषणा गरिएको छ:

वैशाख ७ (आइतबार): ७५३ पालिकाका प्रमुखमार्फत सम्बन्धित मन्त्रीहरू र समितिलाई ज्ञापन पत्र बुझाउने।

वैशाख ८ (सोमबार): काठमाडौंमा दबाबमूलक प्रदर्शन तथा सम्पूर्ण स्थानीय तहमा कालो पट्टी बाँधेर काम गर्ने।

वैशाख १२ (शुक्रबार): माग सम्बोधन नभए काठमाडौं केन्द्रित सडक आन्दोलन र सबै स्थानीय तहमा पेन डाउन कार्यक्रम सञ्चालन गरिने।

सञ्जालले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघलाई पनि कर्मचारीका मागहरू समेट्न पहल गर्न आग्रह गरेको छ।

स्थानीय तहका कर्मचारीहरूलाई आन्दोलनमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै सञ्जालले विज्ञप्तिमा भनेको छ, “संघीयता कार्यान्वयन गर्ने मेरुदण्ड समान कर्मचारीहरूको आवाजलाई अब राज्यले सुन्नैपर्छ।

नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज (सोमबार) सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पुसको स्ववियु सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् ।

नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही आइतबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको थियो ।

उक्त प्यानलबाट शाही सचिव पदमा निर्वाचित भएका थिए । उनै शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका एसपी बोहराका अनुसार, शाहीसहित ६ जना नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्यहरूमा २३ वर्षीय मोहन सुनवार, २२ वर्षीय मनोज शर्मा, २२ वर्षीय आकाश खड्का, २० वर्षीय उमेश शर्मा २२ वर्षीय मिन रावल रहेका छन् ।

अस्कलका सचिव शाही भने यसअघि गत माघ २४ गते राति ठमेलमा ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि भएको कुटपिटमा पनि संलग्न थिए । सो घटनामा उनले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

ताप्लेजुङको पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

ललितपुर महानगरपालिका-१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्य प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छन् । उनीहरू दुवैजना खतरामुक्त अवस्थामा रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

घटना आज बिहान फुङलिङ नगरपालिका-१० को सेवारो चोकमा भएको हो । फुङलिङ सदरमुकामबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिँदा गाडीमा आगलागी भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका-१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।

गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राणालाई स्वाथ्य संवेदनशीलताको कारण हाजिर जमानीमा गएराती छाडिएको हो ।

क्यान्सरको उपचारका लागि भारत जानुपर्ने भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई उनकी श्रीमतीको जिम्मा लगाएर हाजिर जमानीमा छाडेको हो । उक्त घटनामै संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताहरु भने प्रहरी हिरासतमा नै छन् ।

राजावादी समूहले आयोजना गरेको तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक भवन र सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गरेका थिए । सो क्रममा एक पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।