कक्षा १२ को अन्तिम परीक्षा स्थगित भएको छ। यही वैशाख ११ गतेदेखि सुरू हुने तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अहिलेलाई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए। उनले आगामी वैशाख २१ गते परीक्षा सञ्चालनको नयाँ मिति तय भएको बताए।
अध्यक्ष शर्माले परीक्षा सञ्चालनका लागि तय भएको नयाँ मितिबारे बुधबार बोर्डको वेबसाइट र सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने जानकारी दिए। बोर्डले तय गरेको नयाँ मितिमा परीक्षा सञ्चालनमा सहयोग गर्न उनले शिक्षकलगायत सम्पूर्ण सरोकारवालासँग आग्रह गरेका छन्।
विद्यालय शिक्षा कानुन ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएका देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ। लगातार २१ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकबाट असहयोग हुने भएपछि परीक्षा सञ्चालनका लागि बोर्डलाई सकस परेको छ।