बूढेसकालमा गिट्टी कुटेर जीवन धान्नु पर्दाको पीडा

0
680

रामपुर (पाल्पा), २७ वैशाख । सेतीमाया कुमाल उमेरले ७५ वर्ष पुग्नुभयो तर उहाँको जोसजाँगर युवा अवस्थाको जस्तै छ । यो उमेरमा पनि उहाँ कालीगण्डकी नदीको रामपुर नगरपालिकाको रामघाटस्थित किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्नुहुन्छ । बिहान खाना खाएपछि रात नपरुन्जेलसम्म नदी किनारमा दिनमा ६ बोरा जति गिट्टी कुट्ने गरेको कुमालले बताउनुभयो ।

प्रतिबोरा ६० मा नदी किनारबाटै बिक्री भइरहेको छ । अर्की वृद्वा ७७ वर्षीया मती कुमाललाई पनि गिट्टी नकुटेसम्म जीवनगुजारा गर्न सहज छैन । उमेर ढल्कँदै गरेकी मती कुमालले दिनभरि गिट्टी कुटेको आम्दानीबाट घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ । नदी किनारमा घनले गिट्टी कुट्दै गर्नुभएकी कुमाल भन्नुहुन्छ, “गिट्टी कुटेर एक महिनामा रु १० हजार देखि १२ हजार सम्म कमाई गर्छु”—“छोरा बुहारीसँग दुईचार पैसा माग्दा कहिले दिन्छन्, कहिले दिँदैनन्, आफँैले काम गरेपछि अरूसँग परनिर्भर हुनु परेको छैन”, उहाँले भन्नुभयो ।

साढे दुई वर्षको छोरा काखमा च्यापेर कुबिजा कुमालले पनि गिट्टी कुटेर घरायसी खर्च पु¥याउँदै आउनुभएको छ । एक छोरालाई पढाइ खर्च र साँझ–बिहानको गुजारा, औषधोपचार खर्च जुटाउन गाह्रो नभएको बताउनुहुन्छ ।

“दिनमा १० बोरासम्म गिट्टी कुटेर एक महिनामा रु १५ हजार जति आम्दानी हुन्छ”—“साँझ–बिहानको काम सकेर दिनभर गिट्टी कुट्यो, साँझ पैसा बुझ्यो, घर गयो”, उहाँले भन्नुभयो । आफुले गिट्टी कुट्न थालेपछि श्रीमान्ले भारतमा कमाएको पैसा बचत गरेको उहाँले बताउनुभयो ।

तिलकपुर डल्ले चौतारी क्षेत्रमा पनि घरघरमै नदी खोलाबाट ढुङ्गा बोकेर गिट्टी कुट्नेको लहरै देखिन्छ । यस क्षेत्रमा झन्डै ४० देखि ५० को हाराहारीमा घरमै बसी बसी गिट्टी कुटेर एक महिनामा रु २० हजार बराबरको आम्दानी लिने गरेको टोपनारायण ढकालले बताउनुभयो ।

गाउँघरमा मेलापात गरेर दिनमा रु २०० देखि ३०० बुझ्दै आएका यहाँका महिलाले गिट्टी कुटेर रु ५०० देखि रु एक हजारसम्म आम्दानी गर्न सफल भएका छन् । यस व्यवसायमा यहाँ आधाभन्दा धेरै महिला संलग्न रहेको स्थानीयवासी हलिमा खातुन बताउनुहुन्छ ।

रामघाट नदी किनारमा झन्डै १५० भन्दा बढीले व्यावसायिक रुपमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन् । रामपुर क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, ठूलाठूला घर तथा भवन निर्माण गर्ने क्रम बढ्दै गएपछि नदी किनारमा व्यावसायिक रुपमा गिट्टी कुट्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताउनुभयो ।