काठमाडौं, ३० वैशाख । सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ । हिजोको मन्त्रिपरिषद बैठककले निर्वाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने गरी कैलालीको टिकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैयाँ बाँड्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले निर्वाचन आचारसंहिता विपरीत दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने निर्णय निर्णय समेत गरेको छ ।
स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गर्न स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारको संयोजकत्वमा समिति गठन भएको हो । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री गच्छदारको संयोजकत्वमा रक्षामन्त्री बालकृष्ण खाँड र कानूनमन्त्री अजयशंकर नायक समेत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई स्थानीय तहको संख्या वृद्धि सम्बन्धमा अध्ययन गरी ५ दिनभित्र सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।
यसैबीच, नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ । बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरबन्दी यथावत राखी ३ सय ४० जनालाई समायोजन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनु भयो ।