काठमाडौं, ३१ बैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान सुरु भएको छ । लामो प्रतीक्षा, धैर्यता र व्यग्रतापछि आम मतदाताले आफूले मन पराएका आफ्ना घर आँगनमा उम्मेदवारलाई स्थानीय सरकारको नेतृत्वमा पु¥याउन मतदान गर्दैछन् । २०५९ पछि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ ।
मतदाताहरु अधिकांश मतदान केन्द्रमा झिसमिसेदेखि नै उत्साहका साथ मतदानका लागि प्रतिक्षारत थिए । पहिलो चरणमा प्रदेश ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा एक साथ मतदान भइरहेको छ । ३४ वटै जिल्लामा उत्साहपूर्वक मतदान सुरु भएको हाम्रा जिल्ला संवाददाताहरुले जानकारी दिएका छन् । २ सय ८३ स्थानीय तहमा ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकिएका छन् । आजको मतदानमा सहभागि हुने मतदाताको संख्या ४९ लाख ५६ हजार ९ सय २५ छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।
आज चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका प्रमुख उपप्रमुख तथा १ सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि मतदान हुँदैछ । निर्वाचनबाट कुल दुई हजार ५९८ वडामा पाँचजनाका दरले १३ हजार ५ सय ५६ प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनमा कुल ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रेका छन् । निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा अगामी जेठ ३१ गते हुँदैछ ।
तस्विर : अनलाई खबर