२०८२ चैत्र २९ गते आईतवार
२०८२ चैत्र २९ गते आईतवार

भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं साथ दिने बताएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो ।

छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ ।

‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ । यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रले भनेको छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको थियो ।’

 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउबारे कुनै पूर्वाग्रह नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले कानुनको कार्यान्वयन गर्ने मनसाय मात्रै रहेको बताएका हुन् ।

‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु’, उनले भने । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षकले गराएको जानकारी सदनमा सुनाए । वैशाख १७ गते पक्राउको पत्र लिएर सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी प्रधान कार्यालय पुगेको बताए ।

परिचयपत्रसहित अदालतको आदेश कार्यान्वयन गर्न आएको बताएको र सोहीअनुसार प्रहरीले चौधरीलाई पक्राउ गरिएको बताए । उक्त पत्र अदालतको आधिकारिक नरहेको सर्वोच्चको पत्रपछि चौधरी रिहा भएको बताए । अनधिकृत पत्र लेखेका विष्टमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए । भविष्यमा यस्ता घटना नदोहोरिनेप्रति सजग गराएको उनको भनाइ छ । चौधरी र परिवारप्रति भएको अफ्ठ्यारोप्रति उनले दुःख व्यक्त गरे ।

‘संविधानविरुद्धका क्रियाकलाप सह्य हुने छैन’
गृहमन्त्री रमेश लेखकले संविधानका विरुद्धमा हुने कुनै क्रियाकलाप सह्य नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा, संविधानका विरुद्धमा हुने कुनै पनि क्रियाकलापहरू सह्य हुने छैनन् ।’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने दावी गरेका छन्। आज (बिहीबार) राजधानीमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं,’ अध्यक्ष नेपालले भने ।

उनले आफूहरूले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताए। काठमाडौंमा जेठ १५ गते लाखौंको संख्यामा मान्छे उपस्थित भएर प्रदर्शन हुने उनको दाबी छ। ‘स्वतःस्फुर्त रुपमा जिल्ला, पालिका, वडा र टोल टोलमा पनि राजसंस्था पुनः स्थापना समिति गठन गर्न र जनतालाई परिचालन गर्न म आग्रह गर्न चाहन्छु,’ नेपालले भने । उनले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गरे ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । आज (बिहीबार) राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा उनले आन्दोलन निष्कर्षमा पुर्‍याउने दाबी गरेका हुन्। आन्दोलनमा दमनको सहारा लिए बढारिनुपर्ने उनले चेतावनी समेत दिएका छन् । ‘यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नु भयो भने बढारिनु पर्ने परिस्थिति आउन सक्छ । आग्रह छ, बढार्न नपरोस्’, उनले भने ।

अब बल सरकराको कोर्ट रहेको समेत उनले बताएका छन् । ‘बल सरकारको कोर्टमा छ । कुनै दमनको जालझेलको सहारा लिएर होइन । समझदारीमा आउनुस्’, लिङदेनले भने । राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको उनले बताए । राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्र स्थापनाका लागि आगामी जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्ने घोषणा राजवादीले गरेका छन्। ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने ।

उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गरे । ‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् । लिङ्देनले थप भने, ‘यो ध्रुवीकरणमा सामेल हुन अहिलेको कठित गणतन्त्रको पक्षमा रहेका, ०६२÷०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु ।’

काठमाडौँ । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ ।

राजसंस्था पुनर्स्थापना लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।

‘जेठ १५ गतेदेखि अनिश्चित कालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप हुनेछ ।’

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरेका छन् ।

घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) ले पाकिस्तानमाथि भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ नामक हमलाको समर्थन गरेको छ । वैशाख ९ गते जम्बु कश्मीरको पर्यटकीयस्थल पहलगाममा आतङ्कवादी हमलामा परि एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए ।

जवाफमा भारतले बुधवार राति पाकिस्तान प्रशासित कश्मीरका ९ वटा स्थलमा हवाई आक्रमण गरेको थियो । नेपाल समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै उक्त हवाई आक्रमणलाई समर्थन गरेको जानकारी दिएको हो ।

मिति २०८२–०१०९ मा आतङ्कवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतङ्कवाद विरुद्धको कार्यवाही अन्तर्गत पाकिस्तानी आतङ्कवादीको आश्रय स्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण संवद्र्धन तथा आतङ्कवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) निरन्तर सेवन गर्दा मिर्गौला फेल भएको बताएका छन् ।

तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए । ‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ?’ उनले निष्कर्ष सुनाए, ‘मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’

एमाले अध्यक्ष समेत रहेका ओलीको मिर्गौला फेल भएपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । उनले हरेकले स्वास्थ्य जोगाउन कोशिस गर्नुपर्ने सल्लाह पनि दिएका छन् । प्रधानमन्त्री ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनु ुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको संख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए ।

उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुुष्ठारोग जस्ता संक्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गाैला फेल भएको सन्दर्भ उल्लेख गरे ।प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आज (बिहीबार) आन्दोलनको घोषणा गर्दैछ ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे हुने घोषणासभामा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (वीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत हिन्दूवादीलगायत ५० बढी संघसंस्थाको सहभागिता रहने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनले भने, ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपूर्ण हुनेछ ।’

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राजावादी दल तथा विभिन्न संघसंगठनले माग गर्दै आएका छन् ।

राजसंस्था पुनस्थापना र हिन्दूराष्ट्र स्थापनाको माग गर्दै राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति, राप्रपा, राप्रपा नेपाललगायतले छुट्टाछुट्टै तथा संयुक्त आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १५ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ११ पैसा र बिक्रीदर १४ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६३ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ २० पैसा र बिक्रीदर ३६० रुपैयाँ ७९ पैसा, ओमनी रियाल एकको खरिददर ३५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू०भागको थोरै  स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।