काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई पक्राउ गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै उनले एउटा ड्राइभर र व्यापारी पक्रेर थुनेको भन्दै उक्त प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरी अनुसन्धान गर्न माग गरेका हुन्।
उनले विभिन्न प्रकरणमा ड्राइभर, भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्नेमा जोड दिए । खतिवडाले भने, ‘केही महिना पहिले सरकारले काठमाडौं टोखाबाट २५ करोड बराबरको अवैध रकम युरो र डलर गरेर समात्ने काम गर्यो एउटा ड्राइभर र व्यापारी को पक्राउ गर्यो थुन्यो, मूल त्यसको संरक्षण कसले गरिरहेको छ र त्यसको धनी को हो ? अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैं ड्राइभर र लोडरलाई थुन्ने ? र धनी पत्ता नलगाउने। त्यसको कनेक्सन कहाँ–कहाँ छ पत्ता नलगाउने ? को–को संलग्न छन् सदनलाई जानकारी गराइयोस्।’
२५ करोड बराबरको विदेशी मुद्रा प्रकरणमा राजस्व अनुसन्धान विभागले आरोपी कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको भएको छ। उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ को कसूरमा मुद्दा दायर गरिएको हो । चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका लामाले सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुनः कसूर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुने भएको छ ।
त्यस्तै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामदित उक्त विदेशी मुद्राहरू जफत गर्न, उक्त वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसूरजन्य सम्पत्ति तथा साधन ( रोका, नियन्त्रण र जफत ) ऐन, २०७४ को दफा ११ बमोजिम जफतको माग दाबी लिई मुद्दा दायर गरिएको छ। लामाले चलाएको ट्रकबाट ५००,२००,१०० र ५० दरका १३ लाख ७५ हजार १५० युरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरिएको थियो।