२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र प्रधानमन्त्री केपी शर्मा ओलीको टकराब सतहमा आएको छ ।

आज मात्रै प्रधानमन्त्री ओलीले सरकारी बैठकमा बालेन सहभागी नभएको भन्दै आलोचना गरेका थिए । उनले अबदेखि मेयर बालेनलाई बैठकमा नबोलाउन निर्देशन नै दिएका थिए ।

प्रधानमन्त्रीले सरकारी बैठकमा नआएको भन्दै आलोचना गरेपछि मेयर बालेनले पनि जवाफ फर्काएका छन् ।

उनले भ्रष्टाचारी जोगाउने नाइकेको कार्यक्रममा नजाने बताएका हुन् । उनले भ्रस्टचार रोक्छु भन्दा सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्ने पार्टीको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ? भनेर प्रश्न समेत गरेका छन् ।

जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ?, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै मेयर बालेनले प्रधानमन्त्रीलाई भ्रष्ट प्रणालीलाई समर्थन नगर्ने पनि बताएका छन् । उनले लेखेका छन्– माफ गर्नुहोस् केपी ओली, म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन ।

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट देखिएको टिप्पणी गरेका छन् ।

बीपी कोइरालाको जीवनकथामा आधारितक पुस्तक ‘सान्दाजु’ को लोकापर्ण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले यसभित्रै अवसर छ भनेर पनि भन्नुपर्ने बताए ।

‘नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर, एउटा अवसर पनि छ भनेर म भनिरहेको छु,’ महामन्त्री थापाले भने ।

लामो समयदेखि टेक्निकल र ब्युरोक्रेटिक कुरा गरिएको भए पनि यो पटकको घटनाले फरक अनुभव गराएको उनले बताए ।

‘यो पटकको घटनाले हामीलाई के देखाइदिएको छ, चुनाव जितेका छौं । नेपालको ठूलो पार्टी हौं हामी । हामी सबैतिर सरकारमा छौं । नभएको ठाउँ नै छैन । अहिले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो,’ महामन्त्री थापाले भने, ‘सबै हाम्रो । गभर्नर हाम्रो, उ, हाम्रो त्यो हाम्रो । जताततै हाम्रो । यस्तो बेलामा खुसी हुनुपर्ने हो नि कांग्रेस । सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? यसले के देखायो भने हामीले खोजेको यो होइन ।’

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई धरौटीमा छाड्न आदेश गरेको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पाँच करोड ७९ लाख बिगो दाबी गर्दै अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। उक्त मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पोखरेल समेत पाँच जना र एक कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। आर्थिक वर्ष ०७५/७६ मा केन्द्रबाट विभिन्न उपकरण खरिदमा पाँच करोड ७९ लाख बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले सोमबार विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अनुसन्धानका क्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेश भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले सन् २०७६ असार ४ मा उक्त केन्द्रमा पेश गरेको भ्याट बाहेक २ करोड ६५ लाख र अर्को शिर्षकमा भ्याट बाहेक ३ करोड १४ लाख रकम म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको, मिलेमतोमा स्वार्थ बाझिने गरी लागत अनुमान तयार गरेको, सम्झौता बमोजिमको कार्य नै नभएको अवस्थामा समेत कार्य भएको भनी रकम भुक्तानी दिए र लिएको भेटिएको छ।

प्रतिवादीले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनीयतले ५ करोड ५९ लाख बरावरको रकम बढी भुक्तानी लिई दिई कसूरजन्य कार्य गरे गराएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार पौडेलसँगै केन्द्रका तत्कालिन निर्देशक रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनलन प्राली पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनलाई पनि पाँच करोड ७९ लाख बराबरकै जनही विगो दाबी सहित मुद्दा दायर भएको छ।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधीसभाको बैठकमा जवाफ दिदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरे ।

‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु ।’ गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्मसंग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्रको वकलातको विषय नेपालको संविधान विपरित छ जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन ।’

उनले उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भईरहेको जानकारी दिए । ‘जो सुकै भए पनि अपराधिक कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याइने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’, उनले भने, ‘तीनकुनेमा राजाबादी समूहबाट भएको हिंसात्मक प्रदर्शनका सम्बन्धमा मैले यसअघि संसदकै सम्मानित राज्यव्यवस्था समितिलाई समेत जानकारी गराइसकेको छु ।’

मन्त्री लेखकले उक्त घटनामा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको प्रदर्शनकारीले एक निजी घरमा लगाएको आगोमा जलेर निधन भएको र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको बताए । साथै, उक्त तोडफोड र आगजनीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भईरहेको मन्त्री लेखकले जानकारी दिए ।

‘स्वदेशी उत्पादनमा आधारित औषधि कम्पनीमा आगो लगाइएकाले हिंसात्मक प्रदर्शनका आयोजकहरुले यसको जिम्मेवारी लिनुपर्ने कुरामा सरकार प्रष्ट रहेको छ ।’ उनले भने ।

तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै उहाँले उक्त घटनामा गोली लागि घाईते भएका व्यक्तिमध्ये हाल तीन जना उपचाररत रहेका र बाँकी स्वास्थ्य लाभ गरी घर फर्किसकेका जानकारी दिए । ‘उक्त घटनाका घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले गरिरहेको छ ।’ उनले भने, ”अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेनै छ भन्ने व्यहोरा अनुरोध छ ।’

त्यसैगरी झापाको गिरिबन्धु चिया बगान सम्बन्धी निर्णय सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा ढिलाई सम्वन्धी प्रश्नमा मन्त्री लेखकले आदेशको कार्यान्वयन सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालय प्रस्तुत मुद्दाहरुमा प्रत्यर्थी नभएकोले आदेश कार्यान्वयनको लागि यस मन्त्रालयमा जानकारी प्राप्त भई पत्राचार हुने अवस्था नरहेको बताए ।

‘प्रस्तुत मुद्दाहरुमा सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०८०।१०।२४ मा भएको आदेशको कार्यान्वयन सम्बन्धित मन्त्रालय तथा निकायहरुबाट भई रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।’ गृहमन्त्री लेखकले भने, ‘नेपाल सरकार, गृह मन्त्रालय नेपालको संविधान, नेपालको कानून तथा सम्मानित अदालतका फैसला तथा आदेशको कार्यान्वयन गरी सरकारी सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बर्धन गर्न सदैव कृयाशील रहेको छ ।’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई पक्राउ गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै उनले एउटा ड्राइभर र व्यापारी पक्रेर थुनेको भन्दै उक्त प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरी अनुसन्धान गर्न माग गरेका हुन्।

उनले विभिन्न प्रकरणमा ड्राइभर, भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्नेमा जोड दिए । खतिवडाले भने, ‘केही महिना पहिले सरकारले काठमाडौं टोखाबाट २५ करोड बराबरको अवैध रकम युरो र डलर गरेर समात्ने काम गर्‍यो एउटा ड्राइभर र व्यापारी को पक्राउ गर्‍यो थुन्यो, मूल त्यसको संरक्षण कसले गरिरहेको छ र त्यसको धनी को हो ? अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैं ड्राइभर र लोडरलाई थुन्ने ? र धनी पत्ता नलगाउने। त्यसको कनेक्सन कहाँ–कहाँ छ पत्ता नलगाउने ? को–को संलग्न छन् सदनलाई जानकारी गराइयोस्।’

२५ करोड बराबरको विदेशी मुद्रा प्रकरणमा राजस्व अनुसन्धान विभागले आरोपी कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको भएको छ। उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ को कसूरमा मुद्दा दायर गरिएको हो । चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका लामाले सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुनः कसूर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुने भएको छ ।

त्यस्तै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामदित उक्त विदेशी मुद्राहरू जफत गर्न, उक्त वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसूरजन्य सम्पत्ति तथा साधन ( रोका, नियन्त्रण र जफत ) ऐन, २०७४ को दफा ११ बमोजिम जफतको माग दाबी लिई मुद्दा दायर गरिएको छ। लामाले चलाएको ट्रकबाट ५००,२००,१०० र ५० दरका १३ लाख ७५ हजार १५० युरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरिएको थियो।

काठमाडौं । नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ।

थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो। बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दू वर्माले अविजित सर्वाधिक ३० रन बनाइन्। उनको कप्तानी इनिङ्समा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सक्यो। यस्तै रुविना क्षेत्रीले २३ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन्।

यूएईका तर्फबाट बलिङमा इसा रोहित ओजा, एस कोटे र वैष्णवी महिसले एक-एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ रन बनाइन्। यस्तै त्रीथा सतिशले २१, हीना हरिस होचन्दानीले २० र लाभण्या केनीले १२ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन् । चार ओभरमा २० रन खर्चिदै उनले चार विकेट लिएकी हुन्।

यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए । जित्नै पर्ने दबाबपूर्ण खेलमा नेपालले शानदार पाँच विकेटको जित निकाल्यो । अब बाँकी थाइल्याण्डसँगको खेल हारे पनि नेपाललाई कुनै असर नपर्ने भएको छ। यूएई भने सुपर थ्रीमा दुबै खेल हार्दै प्रतियोगिताबाटै बाहिरिएको छ । एसिया छनोटको ‘सुपर थ्री’ मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। थाइल्यान्डले आठ अंक पुर्‍याएको छ।

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकार निराशालाई आशामा परिणत गर्न अघि बढिरहेको बताएका छन्।

आज (सोमबार) प्रतिनिधिसभा बैठकमा उनले निराशाको सञ्चार संसदबाटै गरिएको भन्दै आपत्ति जनाए । संसदको तेजोवध गर्ने गरी संसद् निरस रहेको अभिव्यक्ति आएको बर्तौलाको भनाइ छ। उनले नागरिकको भरोसा टुटाउने गरी प्रायोजित अभिव्यक्ति दिइएको आरोप समेत लगाएका छन् ।

उनले दुई पार्टी मिलेर बनेको सरकारले काम गर्न नसकेको आरोपको खण्डन गरे। आफू सत्तामा भएको भए जादूगरले जसरी गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ छ। ‘जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ। तर, त्यो सत्य होइन । त्यो केवल भ्रम हो । संसद्मा पनि यस्ता प्रवृत्ति देखिरहेका छौँ । जादुगरले पैसाको नोट निकाले जस्तो जादुवाला नम्बर भएकाबाट यस्ता अभिव्यक्ति सुनिरहेका छौँ, त्यो क्षणिक भ्रम हो’, उनले भने ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद लामाले हिमताल फुटेर आएको पहिरोका कारण स्थानीय जोखिममा रहेका भन्दै उद्धारका लागि सरकारको ध्यानार्कषण गराएका हुन् ।

१८ परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको उनले सदनलाई जानकारी दिए। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ताल फुटेर ५ वटा काठे पुल र सिँचाइ प्रणालीमा क्षति पुर्‍याएको बताए । ‘हिमालपारीको जिल्ला भनेर चिनिने हुम्लाको तिला गाउँमा यही जेठ १ गते हिमताल फुटेर गाउँ पुरै तहसनहस बनाएको छ,’ लामाले भने, ‘करिब ४ हजार ७ मिटर उचाइँको ताल फुटेर त्यहाँको जनधनको क्षति पुगेको छ।’ उनले थपे, ‘काठको पुल ५ वटा बगाएको छ। चार, पाँच सय रोपनीमा लाग्ने सिँचाइ कुलो क्षति पुगेको छ । १५ किलोवाटको विद्युत पनि क्षति पारेको छ।

‘पहिरोपीडिहरु असाध्यै अप्ठ्यारो र त्रसित अवस्थामा छन्’, सांसद लामाले भने, ‘उनीहरुको तत्काल उद्धार गर्दै उक्त स्थानमा सरकारले निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन ध्यानार्कषण गराउँछु।’ तिलगाउँमा यही जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा रहेका छन्। यही जेठ १ गते मध्यराति गएको पहिरोबाट १८ परिवार जोखिममा रहेका बताइएको छ। सांसद लामाले हिमाल नजिकका बस्तीहरु दैवी प्रकोपको जोखिममा रहेकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानार्कषण गराए।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४३ पैसा र बिक्रीदर २० रुपैयाँ  ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।