सोमबार बीपी राजमार्गमा खसेको पहिरोका कारण एम्बुलेन्स जाममा फस्दा एक बिरामीको मृत्यु भएको परिवारजनले दाबी गरेका छन्, तर प्रहरीले भने उक्त दाबीको खण्डन गरेको छ । ‘ब्रेन ह्यामरेज’ भएर उपचारका लागि काठमाडौं ल्याइँदै गरेका महोत्तरीको मनरा शिसवा नगरपालिका-२ का भरतलाल झाको एम्बुलेन्समै मृत्यु भएको हो ।
झाका आफन्तका अनुसार, सोमबार दिउँसो बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-९, नार्केमा पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स लामो समय जाममा पर्यो । समयमै अस्पताल पुग्न नसक्दा झाको एम्बुलेन्सभित्रै मृत्यु भएको उनीहरूको भनाइ छ । मृत्युपछि उनको शव सोही एम्बुलेन्समा महोत्तरी नै फिर्ता लगिएको थियो ।
तर, जिल्ला प्रहरी कार्यालय काभ्रेले भने पहिरोको जामका कारण बिरामीको मृत्यु भएको कुरा अस्वीकार गरेको छ । काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले पहिरो खस्नुअघि नै उक्त एम्बुलेन्सले पहिरोस्थल पार गरिसकेको जानकारी दिए । ‘हामीले पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध हुनुअघि नै ४ वटा एम्बुलेन्सलाई नार्केबाट पार गराइसकेका थियौँ,’ डीएसपी घलेले भने, ‘उक्त एम्बुलेन्स जाममा परेको थिएन ।’
उनका अनुसार, उपचारका लागि ल्याइँदै गरेका बिरामीको भकुन्डेस्थित एक स्थानीय अस्पतालमा जाँच गर्दा मृत्यु भएको पुष्टि भएको थियो । ‘पहिरोको कारणले कुनै पनि बिरामीको मृत्यु भएको छैन, यो घटना पहिरोस्थलभन्दा पर भकुन्डेमा भएको हो,’ उनले थपे ।
सोमबार दिउँसो सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा बीपी राजमार्गको नार्के खण्ड केही घण्टा अवरुद्ध भएको थियो । पहिरोका कारण दर्जनौं सवारी साधन र यात्रुहरू अलपत्र परेका थिए । प्रहरीले पछि पहिरो पन्छाएर यातायात सुचारु गराएको थियो ।
