
नेपाल शिक्षक महासंघले १५ असारभित्र विद्यालय शिक्षा ऐन ल्याउने सहमति कार्यान्वयन नभएको भन्दै असार २३ सम्म पर्खने निर्णय गरेको छ । महासंघले उक्त मितिसम्म ऐन नआए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
गत १७ वैशाखमा सरकारले शिक्षक महासंघसँग भएको सहमतिअनुसार १५ असारभित्र विद्यालय शिक्षा ऐन ल्याउने भनिएको थियो । तर सो अवधिसम्म ऐन नआएपछि महासंघले अन्तिम मौका दिँदै २३ असारसम्म कुर्न लागेको हो ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार संसद्को बैठक २३ असारमा बस्ने तय भएकाले सो मितिसम्म कुर्ने निर्णय गरिएको हो । ‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । त्यो दिन संसद्को बैठक पनि छ,’ पराजुलीले भनिन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक पारित गर्ने तयारी रहे पनि शिक्षकका मागमा सहमति नजुटेपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
महासंघले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेका थिए । त्यसपछि १७ वैशाखमा शिक्षा ऐन १५ असारभित्र ल्याउने सहमति भएको थियो । तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै महासंघ आक्रोशित बनेको हो ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नेता शेखर कोइरालाप्रति आक्रोश व्यक्त गर्दै गुटको राजनीति पनि सीमाभित्र रहेर गर्न चेतावनी दिएका छन् । केन्द्रीय समितिको बैठकमा सोमबार कोइरालाले विनोद चौधरीलाई केन्द्रीय समितिमा ल्याउँदा विधि र विधान मिचेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । उनले चौधरीको उपस्थितिलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ भनेका थिए ।
आज (मंगलबार) केन्द्रीय समितिको बैठकमा नेता चौधरीले देशको आर्थिक बागडोर धानेर बसेको व्यक्तिलाई अहिले आएर विधि र प्रक्रियाको कुरा गरेर किनारा लगाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् । ‘उहाँले हिजो प्रश्न उठाउनु भयो, विनोद चौधरी जस्तो मान्छेलाई चार वर्षअघि नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत थियो भनेर’, चौधरीले भने, ‘सारा विधि पुर्याएर, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी पक्ष, पार्टीको कानुन विभागले गरेको विश्लेषण र निर्णयपछि केन्द्रीय समितिमा चुनाव लडेको थिएँ । अहिले आएर ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ को नाममा छेक्न खोजिएको हो ?’
उनले आफ्नो चुनावका बेला विपक्षलाई सहयोग गर्ने नेताहरुका कमजोरी ढाकछोप गरिदिन आफ्ना विषयमा प्रश्न उठाइएको बताउँदै भने, ‘गुटको राजनीतिका नाममा हामी जस्ता मान्छेलाई छेक्ने काम किन हुँदैछ ?’ उनले जेलनेल खाएर आएका नेताको सम्मान गर्ने बताउँदै फरक पृष्ठभूमिबाट आएका नेता सधैँ गुटको शिकार बन्नुपर्ने हो ? भनी प्रश्न गरेका छन् । ‘कन्फ्लिक्ट अफ इन्ट्रष्ट भनेको के हो ? एउटा उद्यमीले अर्थतन्त्र चलाउन पाउँदैन ? ढोका बन्द गर्न लागिएको हो ? खाली जेल र नेल खाएका बाहेक हामीलाई आवश्यकता छैन भनेर यो बैठक निर्णय गर्न तयार छ ?’, आक्रोशित चौधरीले केन्द्रीय समितिको बैठकमा भनेका थिए । महामन्त्रीहरुले ल्याएको आर्थिक सोचले एकातिर आफूहरु उत्साही भए पनि अर्कोतिरका अभिव्यक्तिले दुःखित तुल्याएको बताए ।
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट आएको निजामती सेवा विधेयक हुबहु प्रतिनिधिसभाबाट पारित भएको बताएका छन् ।
आज (मंगलबार) सभामुखको कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले विधेयकमा भएको त्रुटिबारे सच्याउन आवश्यक रहेको बताएका छन् ।
‘समितिबाट जे प्रतिवेदन आएको छ, संसदबाट त्यही पारित भएको छ । समितिमा किन गर्यो ? कसले गर्यो ? छानबिन त गर्नैपर्छ । विश्वास अनुसार काम गर्नुपर्यो । गलत चिज पास हुनु भएन’, उनले भने । उनले राष्ट्रियसभाले पनि त्रुटिलाई सच्याउन सक्ने बताएका छन् ।
मोरङ बेलबारी नगरपालिका वडा नं. १ का आर्थिक अबस्था नाजुक भएका २७ वर्षीय कैलाश तामाङ पछिल्लो पाँच महिनादेखि मिर्गौला फेल भएर जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। जीवनरक्षक मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसके पनि प्रशासनिक ढिलाइका कारण उनको उपचार रोकिएको छ।
कैलाशकी आमाले उनलाई मिर्गौला दिने सहमति जनाइसकेकी छन्। चिकित्सकीय परीक्षणबाट पनि प्रत्यारोपणका लागि उपयुक्त रहेको पुष्टि भइसकेको छ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले आफ्नो स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेजमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने जिम्मा लिइसकेका छन ।
तर, दुर्भाग्यवश, काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले सम्बन्धित फाइल अगाडि नबढाउँदा प्रत्यारोपण प्रक्रिया अल्झिएको हो।
कैलाशकी आमा गीता तामाङको विगतमा दोस्रो विवाह भइसकेको हुँदा कानुनी प्रक्रिया अल्झिएको जनाइएको छ। यद्यपि उनी हाल पनि मोरङमै बसोबास गर्दै आइरहेकी छन् र स्थानीय तह तथा मोरङ जिल्ला प्रशासन कार्यालयबाट आवश्यक स्वीकृति र सिफारिस प्राप्त भइसकेको छ। । मोरङ प्रशासनको सिफारिस र प्रमाणपनि पुगिसकेको भए पनि कैलाशको जीवन एउटा दस्तखतको पर्खाइमा लट्किएको छ।
कैलाशकी आमाको विगतमा दोस्रो विवाह भएको कारण देखाउँदै कागजी अड्चन खडा गरिएको छ। तर गीता तामाङ आज पनि आफ्नै छोरा बचाउन मोरङमै बसेर प्रयासरत छिन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले सम्बन्धित फाइल अगाडि नबढाउँदा प्रत्यारोपण प्रक्रिया अल्झिएको हो र यस बिषयमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी पनि बेवास्ता गर्दै आएका छन
“सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा काठमाडौं प्रशासनबाट गरिएको ढिलाइले हामीलाई अप्ठ्यारोमा पारेको छ,” तामाङ परिवारको भनाइ छ।
बिरामीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहेको हुँदा तत्काल निर्णय नगरे बिरामीको ज्यान नै जोखिममा पर्न सक्ने अवस्था देखिएको छ। नागरिक जीवनसँग जोडिएको यस्तो संवेदनशील विषयमा प्रशासनले समयमै चासो नदिंदा आम नागरिक निराश भएको प्रतिक्रिया देखिएको छ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज (मंगलबार) पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए । उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका छन् ।
‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नु भएको छ, त्यसमा षड्यन्त्र भएको छ,’ उनले भने, ‘यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं ।’ संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने व्यवस्थासहितको विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो। पारित हुँदा ‘बाहेक’ भन्ने शब्द राखिएको पाइएपछि चौतर्फी आलोचना सुरू भएको छ ।
अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याए । ‘प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्यौं । अहिले पनि त्यो प्रवृत्ति जारी छ,’उनले स्पष्ट पारे । सो अवसरमा अध्यक्ष प्रचण्डले वाइसीएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरेका थिए ।
काठमाडौँ । सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका दुई गायिकाले गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन्।
गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेका हुन्
पछिल्लो समयमा आफूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गर्दै आएका आफूहरूले भोगिरहेको समस्याबारे भेटघाट गरेर आफ्नो ध्यानाकर्षण गराएका हुन्।
गायिका चौहानले गृहमन्त्रीसँग भेटपछि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘म यहाँसम्म तपाईँहरूको माया र साथले आइपुगेकी हुँ। तपाईँहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।
जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन्-ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म-सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।
यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।’
उनीहरूले आफ्नो सामाजिक सञ्जालमा आएर जथाभाबी लेख्ने, अश्लील गाली गलौज गर्ने विरुद्ध पनि कारबाही गर्न माग गरेको जनाइएको छ।
काठमाडौँ । कर्मचारीको ‘कुलिङ पिरियड’ २ वर्षे हुनगरी राज्य व्यवस्था समितिले पारित गरेको प्रतिवेदन प्रतिनिधिसभाबाट समेत पारित भइसकेको अवस्था किर्ते भएको खुलासा भएपछि सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।
उनले आफ्नो कार्यकक्षमा दलका नेताहरूका साथै समितिका सभापति र सचिवसँग मंगलबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफल सुरु हुन् ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा ‘बाहेक’ थपिएको पाइएपछि हङ्गामा भएको छ ।
राज्य व्यवस्था समितिबाट विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास हुँदा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो । तर प्रतिनिधिसभाबाट पास भएको विधेयकमा हेरफेर गरिएको भन्दै धेरै नेताले आपत्ति जनाएका छन् ।
नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु घोर अपराध भएको बताएका छन्।सामाजिक सञ्जालमा लेख्दै कोइराला यस्तो बताएका हुन्।
उनले सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभइ देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान भएको टिप्पणी गरेका हुन्।
यस प्रकारणमा जोडिएकालाई हदैसम्मको कारबाही अगाडि बढाएर परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह समेत गरे। कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका कामकारबाही अगाडि बढ्नु नहुने कोइरालाको भनाइ छ।
उनले लेखेका छन्, ‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो। यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ। कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका कामकारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन।’
सोमबार बीपी राजमार्गमा खसेको पहिरोका कारण एम्बुलेन्स जाममा फस्दा एक बिरामीको मृत्यु भएको परिवारजनले दाबी गरेका छन्, तर प्रहरीले भने उक्त दाबीको खण्डन गरेको छ । ‘ब्रेन ह्यामरेज’ भएर उपचारका लागि काठमाडौं ल्याइँदै गरेका महोत्तरीको मनरा शिसवा नगरपालिका-२ का भरतलाल झाको एम्बुलेन्समै मृत्यु भएको हो ।
झाका आफन्तका अनुसार, सोमबार दिउँसो बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-९, नार्केमा पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स लामो समय जाममा पर्यो । समयमै अस्पताल पुग्न नसक्दा झाको एम्बुलेन्सभित्रै मृत्यु भएको उनीहरूको भनाइ छ । मृत्युपछि उनको शव सोही एम्बुलेन्समा महोत्तरी नै फिर्ता लगिएको थियो ।
तर, जिल्ला प्रहरी कार्यालय काभ्रेले भने पहिरोको जामका कारण बिरामीको मृत्यु भएको कुरा अस्वीकार गरेको छ । काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले पहिरो खस्नुअघि नै उक्त एम्बुलेन्सले पहिरोस्थल पार गरिसकेको जानकारी दिए । ‘हामीले पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध हुनुअघि नै ४ वटा एम्बुलेन्सलाई नार्केबाट पार गराइसकेका थियौँ,’ डीएसपी घलेले भने, ‘उक्त एम्बुलेन्स जाममा परेको थिएन ।’
उनका अनुसार, उपचारका लागि ल्याइँदै गरेका बिरामीको भकुन्डेस्थित एक स्थानीय अस्पतालमा जाँच गर्दा मृत्यु भएको पुष्टि भएको थियो । ‘पहिरोको कारणले कुनै पनि बिरामीको मृत्यु भएको छैन, यो घटना पहिरोस्थलभन्दा पर भकुन्डेमा भएको हो,’ उनले थपे ।
सोमबार दिउँसो सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा बीपी राजमार्गको नार्के खण्ड केही घण्टा अवरुद्ध भएको थियो । पहिरोका कारण दर्जनौं सवारी साधन र यात्रुहरू अलपत्र परेका थिए । प्रहरीले पछि पहिरो पन्छाएर यातायात सुचारु गराएको थियो ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ÷लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । घरायसी वातावरण धमिलो देखिन्छ, जीवनसाथी वा आफन्तसँग कुराकानी भएको छैन भने घरमा सम्पर्क गरी परिस्थिति बुझ्नुहोला, नत्र मतभेद बढ्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकता उपर ध्यान दिनुपर्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । घरपरिवारबाट सुखद समाचार आउनेछ, घुमघाममा जाने वा मनोरञ्जन गर्ने मौका जुर्नसक्छ । आज प्रतियोगी र प्रतिस्पर्द्धी पनि कमजोर रहनेछन् । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । महत्त्वाकाङ्क्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र सट्टापट्टामा धनलगानी गर्नुभयो भने पछुतो हुनेछ । पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ ।





