चीनको ‘वान वेल्ट वान रोड’ अवधारणाबाट नेपालले फाइदा लिन ओलीको दावी ।

0
445
काठमाडौँ, ११ साउन । उत्तरको छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिगात्से र आली प्रिफेक्चरको अवलोकन गर्नुभएको छ ।
अध्यक्ष ओली ल्हासाबाट रेलमार्गमार्फत सिगात्से जानुभएको थियो । ओलीसँग सिगात्से प्रिफेक्चरका पार्टी सेक्रेटरी चाङ याङछिङबीच भेटवार्ता भएको छ ।
चाङले तिब्बत सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको, नेपालको विनाशकारी भूकम्पबाट अवरुद्ध खासा नाका क्षेत्र खुलाउन अध्ययन भइरहेको र रसुवागढी नाकामा चीनतर्फ पूर्वाधार विकासको कार्य भइरहेको जानकारी गराउनु भएको थियो ।
अध्यक्ष ओलीले आफू सन् २०१६ मा प्रधानमन्त्रीका रुपमा चीनको औपचारिक भ्रमणका समया दुई देशको हितका लागि विभिन्न सम्झौता र सहमति भएको उल्लेख गर्दै ती सम्झौता तथा सहमति कार्यान्वयन गर्न तिब्बत सरकार तथा सिगात्से प्रिफेक्चर सरकारको समेत पूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
तिब्बत र नेपालबीचको ऐतिहासिक, भौगोलिक, व्यापारिक, धार्मिक, सांस्कृतिक सम्बन्धको उल्लेख गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग थप सुदृढीकरण हुने र चीनको ‘वान वेल्ट वान रोड’ अवधारणाबाट नेपालले फाइदा लिन चाहेको ओलीले बताउनुभयो ।
यही साउन ७ गते काठमाडौँबाट ल्हासा जानुभएका पूर्वप्रधानमन्त्री ओली १३ गते ल्हासाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ ।