एसएमएसले गर्दा ३२ परिवारको ज्यान जोगीयो ।

0
760

६ भदौ , झापा । गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् । झापामा बाढीका कारण १३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका रहेका छन् । झापा गाउँपालिकामा मात्रै बाढीकै कारण सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पनि झापा गाउँँपालिका नै हो । माई र सानो माईको भङ्गालो गाउँ पसेपछि सिङ्गो झापा गाउँपालिका तीन दिन डुब्यो । गाउँपालिकाको ७ नम्बर वडा टप्पु गाउँ सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो । सोही गाउँ नजिकैका टेकबहादुर दर्नालकी श्रीमती कमला र छोरी खुशीले बाढीका कारण ज्यान गुमाए । तर, सोही गाउँका ३२ परिवारका एक सय ५० जनाले भने एसएमएसका कारण ज्यान जोगाएका छन् । कनकाई नदीमा बाढी आउने सूचना दुई घण्टा अघि एसएमएसबाट थाहा पाएपछि सो गाउँका ७८ महिला र ७२ जना पुरुषले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको स्थानीयवासी तथा खोज तथा उद्धार कार्यदलका सदस्य सुनिल हस्दाले बताए।

युएसआइडीको आर्थिक सहयोग, प्राक्टिकल एक्सनको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको कनकाई बाढी पूर्व सूचना प्रणालीमार्फत बाढी आउने सूचना मोबाइलमा एसएमएस आएपछि टप्पुवासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए । सो क्षेत्रमा तीन वर्षअघिदेखि कनकाई बाढी पूर्व सूचनासम्बन्धी काम नेपाल रेडक्रस सोसाइटी झापाले गर्दै आएको छ ।

टप्पु गाउँमा पश्चिमबाट माई र पूर्वबाट सानो माईको भङ्गालो पसेपछि त्यहाँका ३२ परिवार तीन दिनसम्म डुवानमा परे । त्यो गाउँमा उद्धारका लागि न नेपाली सेनाको टोली पुग्न सक्यो न त त्यहाँ अरु कुनै निकायको उद्धार टोली नै पुग्यो । उद्धारका लागि खटिएको नेपाली सेना र प्रहरीको टोली बीचबाटोबाटै फर्किएपछि स्थानीयवासी आफैंले कोलाको थम्बाको सहारामा सानो माई पार गर्दै तीन दिनपछि सिमलवाडी पुगेर आश्रय लिएको स्थानीयवासी हस्दाले बताए ।कनकाई माईको मैनाचुलीमा राखिएको बाढी पूर्व सूचना प्रणालीबाट बाढी आउनुभन्दा दुई घण्टा पूर्व नै बाढी आउने सूचना थाहा पाएर ज्यान जोगाउन पाएकामा विपद्मा पनि उनीहरु खुशी छन्  ।

वर्षेनी कनकाई नदीमा आउने बाढीले झापावासीलाई दुःख दिने गरेपछि उनीहरुले कनकाई नदीमा तटबन्धन गर्न माग गरेका छन् । दुई मुठ्ठी चामल र एउटा त्रिपालले आफूहरुको समस्या समाधान नहुने भन्दै दीर्घकालीन सोचका साथ कनकाई नदीमा बाँध बाँध्न उनीहरुले सरकारसँग माग गरेका छन् ।