रुपन्देही– कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन नजिकिँदै गर्दा यहाँको राजनीतिक प्रतिस्पर्धा चर्किँदै गएको छ ।
अहिले सम्म रास्वपा, राप्रपा नेपाल, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुंग्याएर प्रचारमा जुटिसकेका छन् भने सत्तारुढ एमाले, कांग्रेस र माओवादीले अझै नाम सार्वजनिक गरेका छैनन् ।
रास्वपाबाट डा. लेखजंग थापा, राप्रपा नेपालबाट अर्जुन थापा, जनमतबाट धनिराम चौधरी र जनमोर्चाबाट बद्रे आलम उम्मेदवार बनेर सक्रिय भएका छन् ।
उनीहरूले घरदैलो, सामाजिक सञ्जाल र भेटघाटमार्फत प्रचार तीव्र पारेका छन् ।
स्वतन्त्र उम्मेदवार अजयकुमार गुप्ता, लेखनाथ गैरे र किरण बिकले पनि प्रचार सुरु गरेका छन् ।
तर एमाले, कांग्रेस र माओवादीले अझै उम्मेदवार छनोट प्रक्रियालाई टुंगोमा पु¥याएका छैनन् ।
एमालेले खिमलाल भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ भने राप्रपामा भने प्राथमिक निर्वाचनको निर्णयले विवाद बढाएको छ ।
माओवादीले पूर्वसांसद सोनिया यादवलाई अघि सार्ने सम्भावना देखिएको छ ।
यसअघि २०७९ सालमा राप्रपाका दीपक बोहरा विजयी भएका थिए ।
उनको निधनपछि यो उपनिर्वाचन हुन लागेको हो ।
अबको केही दिनमा ठूला दलले उम्मेदवार घोषणा गरेपछि प्रतिस्पर्धा अझै रोचक बन्ने देखिएको छ ।








