काठमाडौं । गत भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति बेहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीहरूको जागिर नगुम्ने र उनीहरूलाई दसैँ भत्ता समेत दिने घोषणा गरेको छ ।
आन्दोलनबाट निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा पनि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबै स्टोरहरू पुनः सञ्चालनमा ल्याउने दृढता व्यक्त गरेका छन् । उनले उपत्यकाभित्रका स्टोरहरू चार महिनाभित्र र उपत्यका बाहिरका स्टोरहरू १० महिनाभित्र सञ्चालनमा ल्याइसक्ने बताएका छन् ।
गुरुङले भने, ‘हामी खरानीबाटै भए पनि माथि उठ्छौँ, हाम्रा सबै स्टोरहरू खडा गरेरै छाड्छौँ। हामीसँग जोडिएका कसैको रोजीरोटी गुम्न दिँदैनौँ । स्टोरहरू सञ्चालनमा नआउन्जेल पनि उहाँहरूको रोजगारी गुम्दैन । ऋण नै गरेर पनि दसैँ मनाउने व्यवस्था पनि गर्छौँ ।’
भाटभटेनीमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन् । कम्पनीले सञ्चालनमा रहेका अन्य स्टोरहरूमा काम मिलाएर उनीहरूको रोजगारी सुनिश्चित गर्ने जनाएको छ । गत आर्थिक वर्षमा भाटभटेनीले २७ अर्ब रुपैयाँ बराबरको बिक्री गरेको थियो ।गुरुङले सधैँ जनता र राष्ट्रको सेवामा काम गरेको भए पनि निशानामा परेकोमा दुःख व्यक्त गरेका छन् ।
देशभरका २८ मध्ये २२ वटा शाखामा भएको आक्रमणबाट १२ वटा शाखा तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन् । यीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध-चुच्चेपाटी, कोटेश्वर र बालुवाटारका पाँच शाखा तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सात शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन् ।









