जेनजी आन्दोलनको क्रममा २४ भदौमा देशभरका कारागार र बाल सुधारगृह तोडफोड हुँदा भागेका कैदीबन्दीमध्ये अझै ८ हजार ३५७ जना फरार छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार फरारमध्ये ७ हजार ७५३ जना विभिन्न कारागारबाट र ६२२ जना बाल सुधारगृहबाट छन् ।
आन्दोलनको दिन २८ कारागार र ९ बाल सुधारगृहबाट गरी १४ हजार ५५५ कैदी भागेका थिए । हालसम्म ६ हजार १७९ जना पक्राउ वा स्वेच्छाले फर्किएका छन् ।
बाँकीलाई नियन्त्रणमा लिन खोज्दा १० जनाको मृत्यु भएको विभागले जनाएको छ । मृतकहरूमा रामेछापका ३, धादिङका २ र नौबस्ता बाल सुधारगृहका ५ जना छन् ।
आन्दोलनअघि देशभर ३० हजारभन्दा बढी कैदीबन्दी थिए, जसमा आधाभन्दा बढी २४ भदौमा भागेका थिए ।









