काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा अहिले पनि शिवपुरीस्थित सेनाको व्यारेकमा उपचार गरिरहेका छन् ।
देउवाको टाउकोमा गम्भीर चोट लागेपछि १२ टाँका लगाइएको छ । जानकार नेताहरुका अनुसार उनलाई अहिले पनि निद्रा राम्रो परेको छैन । उठ्दा रिंगटा लागिरहेको छ । चिकित्सकहरुले देउवालाई आराम गर्न सुझाव दिएका छन् । देशमा सत्ता परिवर्तन भएको बेला उनी भने शिवपुरीस्थित सेनाको ब्यारेमा बसिरहेका छन् ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनका एउटा योद्दामाथि भएको हमलालाई उहाँले सामान्य रुपमा लिनुभएको छैन’, देउवासँग भेटेर आएका एक नेताले दृष्टिसँग भने । गैरदलीय सरकारको रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । यो अन्तरिम सरकारको म्याण्डेट आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु हो ।
सरकारका मन्त्रीहरुले पनि आफूहरुको प्रमुख ध्येय नै निर्वाचन गराउनु भएको प्रतिक्रिया व्यक्त गरिरहेका बेला देउवा दम्पतीको खोजी तीव्ररुपमा भइरहेको छ । तर निकट नेताहरुका अनुसार देउवा अझै केही दिन सार्वजनिक अभिव्यक्ति दिने अवस्थामा छैनन् ।
जेन–जीको भदौ २३ र भदौ २४ गतेको आन्दोलनका कारण पुराना दल र यसका नेतृत्वहरू विस्थापित गरिनुपर्ने आवाज उठेको छ । आन्दोलनको क्रममा पुराना दलका शीर्ष नेताहरु नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर आफ्नो ज्यान जोगाउन सफल भएका थिए ।
नेपाली कांग्रेसका सभापति एवं पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा र उनकी धर्मपत्नी आरजु भने आन्दोलनकारीको निर्मम कुटाईबाट घरमै सख्त घाइते भएका थिए । देउवा दम्पतीलाई नेपाली सेनाले रेस्क्यु गरेर उपचार गराइरहेको छ ।
उनीहरुको अझै एक साता उपचार जारी रहने भनिएको छ । कांग्रेस नेताहरुले सभापति दम्पतीको स्वास्थ्य अवस्थाबारे निरन्तर अपडेट लिइरहेका छन् । ‘सभापतिज्यूले दिनुभएको जानकारीअनुसार, गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ’, कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘त्यो भन्दा तल सामान्य चोट छ । त्यो टाँका लागेको ठाउँ र चोट निको हुँदै गएको अवस्था छ ।’
देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्न सक्ने अवस्थामा छन् । ‘उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा छ,’ उनले भने । चिकित्सकले केही दिन अmभै अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी गराए ।
२४ भदौमा बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीको आक्रमणबाट घाइते उनीहरुको स्वास्थ्य अवस्था अहिलेपनि कमजोर रहेको छ । प्रदर्शनकारीहरू बिहान ९ बजेदेखि नै देउवाचोकमा भेला भएका थिए । बिस्तारै उग्र बन्दै गएको भीड देउवा निवासतर्फ अघि बढेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले निवासमा पसेर देउवा दम्पतीमाथि कुटपिट गरेका थिए ।
उनीहरूलाई घरभित्रै लछारपछार गर्दै बाहिर ल्याइएको थियो । देउवा दम्पतीको गर्धन, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको चिकित्सकहरूको भनाइ छ । उनीहरूको आक्रमणमा सिसा, रड र धारिलो हतियार प्रयोग गरिएको थियो ।
त्यस क्रममा पनि उनीहरूमाथि ढुंगा प्रहार भइरहेकाले सुरक्षाकर्मीहरूले जस्तापाताले ढाकेर देउवा दम्पतीलाई सुरक्षित राखेका थिए । त्यही स्थानमा मेडिकल टिमले घाइते दम्पतीको प्राथमिक उपचारसमेत गरेको थियो । हेलिकोप्टर पटकपटक प्रयास गर्दा पनि अवतरण गर्न नसकेपछि अन्ततः नेपाली सेनाले उनीहरूलाई गाडीमार्फत उद्धार गरी सुरक्षित रूपमा शिवपुरीतर्फ लगेको थियो ।










