
काठमाडौँ। नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ ।
मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो ।
पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको प्रहरीको भनाई छ ।
प्रहरीको अनुसार ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको छ ।
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलन मूल उद्देश्यबाट विचलित भइसकेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आन्दोलन ‘हाइज्याक’ भएको आरोप लगाएका हुन् ।
प्रसाईँले आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी भएको उल्लेख उनले आफु नि छक्क परेको बताए । उनले यस्तो घटनाक्रम विदेशी हस्तक्षेपको संकेत हुन सक्ने आशंका व्यक्त गरे ।
‘नेपालमा अहिले विदेशी हस्तक्षेपको दबाब बढ्दै गएको छ,’ प्रसाईँले भने, ‘यो अब सजग र माटो सुहाउँदो आन्दोलन हुनुपर्छ ।’
धार्मिक दृष्टिकोणबाट नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने धारणा राख्दै उनले वर्तमान समयमा धर्म कमजोर हुँदै गएको गुनासो गरे । ‘यो देश भगवान्हरूले बास गरेको भूमि हो,’ उनले भने, ‘भगवान् रामचन्द्र हाम्रो गर्व हुन्, अब आन्दोलन माटो सुहाउँदो ढंगले गर्नुपर्छ ।’
प्रसाईँले जेनजी आन्दोलनले गठन गरेको भनिएको नयाँ सरकारप्रति पनि असन्तुष्टि जनाए । ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन,’ उनले भने ‘जेनजीको आन्दोलनलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुस्थित नयाँ घरमा बसोबास गर्दै आएका छन् ।
भदौ २४ गते बालकोटस्थित निवासमा प्रदर्शन र आगजनी भएपछि उनी सैनिक सुरक्षासहित गुण्डु सरेका हुन् ।
ओली गत सातादेखि भक्तपुरको गुण्डुमा बसेको पुष्टि भएको छ । स्रोतका अनुसार उनी अहिले त्यहीँबाट राजनीतिक गतिविधि अघि बढाइरहेका छन् ।
गुण्डु पुगेपछि ओलीले एमालेका नेता र कार्यकर्तासँग भेटघाटको क्रम बढाएका छन् । मंगलबार सार्वजनिक भएको एक भिडिओमा उनी कार्यकर्तासँग फोटो खिचाउँदै गरेका देखिन्छन् । यद्यपि, भिडिओमा ओलीले संवाद गरिरहेको दृश्य देखिँदैन ।
पार्टी स्रोतका अनुसार केही दिनयता केही नेता र कार्यकर्ताहरू व्यक्तिगत रूपमा ओलीलाई भेट्न पुगेका थिए । मंगलबार चाहिँ कार्यकर्ताहरू समूहकै रूपमा गुण्डुस्थित निवासमा पुगेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ ।
वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले महाधिवेशनको दबाब दिन हस्ताक्षर संकलन थालेका हुन् ।
सोमबार काठमाडौंमा बैठक गरी संस्थापन इतर समूहले जेनजी आन्दोलनपछिको विशिष्ट अवस्थामा विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्षसहित हस्ताक्षर थालेको हो ।
सो क्रममा एक सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
‘नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टीसामु धेरै संकटहरु उत्पन्न भए। हामीले ती सबै संकट र चुनौतीहरुसँग मुकाविला गर्यौँ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ,’ हस्ताक्षर पत्रमा उनीहरुले भनेका छन्, ‘तसर्थ यतिबेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ।’
उनीहरुले विगतका गल्तीहरु माफी माग्दै सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को उपयुक्त थलो वा माध्यम नभएको पनि भनेका छन्।
कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
भदौ २४ गतेको जेनजी प्रदर्शनकारीको आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा हाल उपचाररत छन् । उनले तत्काल पार्टीको बैठक बोलाउने वा महाधिवेशनबारे कुनै जवाफ दिने अवस्था छैन ।
तर, देउवा निकट पार्टी प्रवक्ता डा. प्रकाशशरण महत भने ‘अभिभावकमाथि सांघातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तन गर्न खोज्नु अश्वाभाविक भएको’ बताउँछन् ।
हिजो पत्रकार सम्मेलन गरी महतले सभापति स्वस्था हुँदासम्म पर्खन नेताहरूलाई आग्रह गरेका थिए । यो अवस्थामा खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई रुपान्तरण गर्ने अभियानमा अब नरोकिने बताउँदै आएका छन् ।
नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार साँझ कारागार फर्किएका छन् ।
भदौ २४ गते जेनजीको आन्दोलनपछि उनी सुनधारा कारागारबाट अन्य कैदी बन्दीसँगै फरार भएका थिए । यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई फर्किएलगत्तै कारागारसमेत सरुवा गरिएको छ। उनलाई डिल्ली बजार कारागार पठाइएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
जेलबाट बाहिर निस्किएपछि रायमाझीले अवस्था सामान्य भएपछि आफैँ उपस्थित हुने भन्दै फोन गरेका थिए। अन्य कैदी बन्दी पनि कोही आफैँ र कसैलाई पक्राउ गर्दै फर्काउने काम भइरहेको छ।
जेनजी आन्दोलनको क्रममा देशभरका २७ वटा कारागारमा १४ हजार ५५५ जना कैदी बन्दी फरार भएका थिए । तीमध्ये ६ हजार ९८४ जना फिर्ता भइसकेका छन् भने अझै ७ हजार ५७१ जना फरार छन् । केन्द्रीय कारागार सुनधाराबाट मात्रै ३ हजार ५२३ जना कैदी बन्दी फरार भएका थिए।
सरकार र कारागार प्रशासनले फरार भएका कैदी बन्दीलाई फिर्ता ल्याउने प्रयासलाई तीव्रता दिएका छन्।
काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा अहिले पनि शिवपुरीस्थित सेनाको व्यारेकमा उपचार गरिरहेका छन् ।
देउवाको टाउकोमा गम्भीर चोट लागेपछि १२ टाँका लगाइएको छ । जानकार नेताहरुका अनुसार उनलाई अहिले पनि निद्रा राम्रो परेको छैन । उठ्दा रिंगटा लागिरहेको छ । चिकित्सकहरुले देउवालाई आराम गर्न सुझाव दिएका छन् । देशमा सत्ता परिवर्तन भएको बेला उनी भने शिवपुरीस्थित सेनाको ब्यारेमा बसिरहेका छन् ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनका एउटा योद्दामाथि भएको हमलालाई उहाँले सामान्य रुपमा लिनुभएको छैन’, देउवासँग भेटेर आएका एक नेताले दृष्टिसँग भने । गैरदलीय सरकारको रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । यो अन्तरिम सरकारको म्याण्डेट आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु हो ।
सरकारका मन्त्रीहरुले पनि आफूहरुको प्रमुख ध्येय नै निर्वाचन गराउनु भएको प्रतिक्रिया व्यक्त गरिरहेका बेला देउवा दम्पतीको खोजी तीव्ररुपमा भइरहेको छ । तर निकट नेताहरुका अनुसार देउवा अझै केही दिन सार्वजनिक अभिव्यक्ति दिने अवस्थामा छैनन् ।
जेन–जीको भदौ २३ र भदौ २४ गतेको आन्दोलनका कारण पुराना दल र यसका नेतृत्वहरू विस्थापित गरिनुपर्ने आवाज उठेको छ । आन्दोलनको क्रममा पुराना दलका शीर्ष नेताहरु नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर आफ्नो ज्यान जोगाउन सफल भएका थिए ।
नेपाली कांग्रेसका सभापति एवं पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा र उनकी धर्मपत्नी आरजु भने आन्दोलनकारीको निर्मम कुटाईबाट घरमै सख्त घाइते भएका थिए । देउवा दम्पतीलाई नेपाली सेनाले रेस्क्यु गरेर उपचार गराइरहेको छ ।
उनीहरुको अझै एक साता उपचार जारी रहने भनिएको छ । कांग्रेस नेताहरुले सभापति दम्पतीको स्वास्थ्य अवस्थाबारे निरन्तर अपडेट लिइरहेका छन् । ‘सभापतिज्यूले दिनुभएको जानकारीअनुसार, गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ’, कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘त्यो भन्दा तल सामान्य चोट छ । त्यो टाँका लागेको ठाउँ र चोट निको हुँदै गएको अवस्था छ ।’
देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्न सक्ने अवस्थामा छन् । ‘उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा छ,’ उनले भने । चिकित्सकले केही दिन अmभै अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी गराए ।
२४ भदौमा बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीको आक्रमणबाट घाइते उनीहरुको स्वास्थ्य अवस्था अहिलेपनि कमजोर रहेको छ । प्रदर्शनकारीहरू बिहान ९ बजेदेखि नै देउवाचोकमा भेला भएका थिए । बिस्तारै उग्र बन्दै गएको भीड देउवा निवासतर्फ अघि बढेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले निवासमा पसेर देउवा दम्पतीमाथि कुटपिट गरेका थिए ।
उनीहरूलाई घरभित्रै लछारपछार गर्दै बाहिर ल्याइएको थियो । देउवा दम्पतीको गर्धन, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको चिकित्सकहरूको भनाइ छ । उनीहरूको आक्रमणमा सिसा, रड र धारिलो हतियार प्रयोग गरिएको थियो ।
त्यस क्रममा पनि उनीहरूमाथि ढुंगा प्रहार भइरहेकाले सुरक्षाकर्मीहरूले जस्तापाताले ढाकेर देउवा दम्पतीलाई सुरक्षित राखेका थिए । त्यही स्थानमा मेडिकल टिमले घाइते दम्पतीको प्राथमिक उपचारसमेत गरेको थियो । हेलिकोप्टर पटकपटक प्रयास गर्दा पनि अवतरण गर्न नसकेपछि अन्ततः नेपाली सेनाले उनीहरूलाई गाडीमार्फत उद्धार गरी सुरक्षित रूपमा शिवपुरीतर्फ लगेको थियो ।
काठमाडौं । सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ । गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय बालक अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
घरभन्दा केही पर आँप बगैंचामा हत्या गरिएको अवस्थामा आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार राति ८ बजेबाट बेपत्ता भएका बालक अपहरणमा परेको भन्दै सोमबार बिहान परिवारलाई फिरौती रकम माग गर्दै म्यासेज आएको थियो । तर खोजतलास गर्ने क्रममा आज बिहान हत्या गरिएको अवस्थामा बालकको शव घर नजिकै फेला परेको हो । घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।
नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ ।
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् ।
पछिल्लो दुई दिनमा ६५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ ।
गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको कूल संख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए ।
फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ । ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए । कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन् । बालसुधार गृहबाट ९६३ जना भागेका थिए ।
प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ । दश जना कैदीबन्दीको भने मृत्यु भएको छ ।