नेकपा माओवादी केन्द्र मधेश पस्यो ।

0
1240

१७ भदौ , काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेता विगत एक सातादेखि तराई मधेशका विभिन्न जिल्लामा चुनावी गतिविधिमा सहभागी भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन ।

अध्यक्ष दाहालका साथसाथै पार्टीका वरिष्ठ नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, मातृका यादव, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, विश्वनाथ शाह, प्रभु साह, देवेन्द्र पौडेल, रामकुमार शर्मा, रामचन्द्र झा, श्रवणकुमार यादव, चक्रपाणि खनाल, उर्मिला अर्याललगायतका नेताहरु चुनावी अभियानलाई प्रभावकारी बनाउन र पार्टीको पक्षमा जित निकाल्न क्रियाशील रहनुभएको प्रवक्ता भुसालले जानकारी दिईन ।

यस्तै पार्टीका वरिष्ठ नेता अमिक शेरचन, लिलामणि पोखरेल, दिनानाथ शर्मा, जयपुरी घर्तीलगायतका नेताहरु पनि चुनावी गतिविधिमा सहभागी भएको जनाईएको छ ।

प्रदेश नं २ को कुल १३६ स्थानमा निर्वाचन हुन लागेको छ । माओवादीको केन्द्रीय नेतृत्व नै तराई मधेश दौडाहमा लागेपछि चुनावी माहोलसमेत तातेको छ । धनुषाको जनकपुरधाममा पार्टीको सचिवालय बैठक राखेर शुरु भएको चुनावी अभियान प्रभावकारी रुपमा अगाडि बढेको र माओवादीको पक्षमा चुनावी माहोल देखिएको नेता मातृका यादवले जानकारी दिए ।

यस्तै नयाँशक्ति परित्याग गरेर केही दिन पहिले मात्रै माओवादीमा समाहित भएका नेताहरु देवेन्द्र पौडेल, बलावती शर्मा, पासाङ शेर्पा,परशुराम तामाङ र लोकतान्त्रिक फोरम परित्याग गरी माओवादीमा प्रवेश गरेका रामेश्वर राय यादवसमेत माओवादीको पक्षमा चुनावी माहोल बनाउन लागि परेको जनाईएको छ ।
बैठकबाट २ नम्बर प्रदेशको स्थानीय तहको उम्मेदवारसमेत चयन गर्ने तयारी गरिएको प्रवक्ता भुसालको भनाइ छ । माओवादीले नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, नेपाल, राष्ट्रिय जनता पार्टीलगायतका पार्टीसँग चुनावी तालमेल गर्ने रणनीतिसमेत अख्तियार गरेको छ ।

तराई मधेशको चुनावी गतिविधिमा केन्द्रित भएका अध्यक्ष दाहालले पछिल्लो समयमा माओवादीको पक्षमा उभार आएको र ‘१२ वर्षपछि खोला फर्केको’ जस्तै अनुभूति भएको बताउँदै आएका छन् ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षित परिणाम निकाल्न नसकेको माओवादीले प्रदेश नं २ मा भने पहिलो पार्टी बन्ने दृढता प्रस्तुत गरेको छ ।

यस्तै गत साउनको अन्तिम साताको बाढी र पहिरोका कारण आहातमा परेको २ नम्बर प्रदेशमा राहत वितरण तथा पुनःस्थापनाको कामलाई समेत केन्द्रमा राखेर गतिविधि गरिएको पार्टीले जनाएको छ ।

पार्टीको जनवर्गीय संगठनसमेत चुनावी वातावरण बनाउन लागिपरेको छ । माओवादीको सहायक संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा चुनावी अभियान, राहत तथा पुनःस्थापनाको कामलाई समेत सँगसँगै अगाडि बढाइएको बताए ।
वीरगन्जमा आजदेखि शुरु हुने केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको समग्र पक्षका बारेमा समीक्षा गर्ने, उम्मेदवारी चयन गर्ने र आगामी संघ र प्रदेशको निर्वाचनको तयारीका बारेमा समेत महत्वपूर्ण छलफल हुने कार्यसूची छ ।

मुलुकको जीवनरेखा नै मानिएको तराई मधेशलाई आफ्नो पोल्टामा पार्न प्रमुख राजनीतिक दल क्रियाशील भएर लागेको सन्दर्भमा माओवादीको वीरगञ्ज बैठकलाई महत्वका साथ हेरिएको छ ।