काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासबाट बुद्ध मूर्तिको चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले लामालाई काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनको डेरामा गरिएको खानतलासीका क्रममा चोरी भएको बुद्ध मूर्तिसहित गणेशको मूर्ति र एउटा शंख पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, लामाले गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देउवाको घरबाट ती सामग्री लुटेको आशंका गरिएको छ । उक्त दिन विभिन्न माग राखी युवाहरूको एक समूहले देउवा निवासअगाडि प्रदर्शन गरेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका लामालाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । प्रहरीले चोरी र अन्य सम्भावित संलग्नताका विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
