
काठमाडौँ महानगरपालिकाले अतिक्रमणमा परेका २३ अर्ब मूल्य बराबरको २०८ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको छ ।
महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् ।
आफूले महानगरको नेतृत्व लिए यता अतिक्रमणमा परेका उक्त मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता गरी सार्वजनिक उपयोग मै ल्याइसकेको मेयर साहले बताएका छन् ।
‘हामी काठमाडौँ महानगरमा आए पछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ, हाम्रो लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने लक्ष्य महानगरको रहेको,’ उनले बताएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही नीति अनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहरेका महानगरले जनाएको छ ।
फिर्ता गरिएका ती जग्गाहरूलाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेका उनले बताए ।
सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्राथमिकताका साथ अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीतिगत आधार मानी मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको र समितिले भोलिदेखि कार्य प्रारम्भ गर्ने महानगरले जनाएको छ ।
काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
फिर्ता हुने राजदूतहरूमा डा. कृष्ण प्रसाद ओली-चीन, लोकदर्शन रेग्मी-अमेरिका, चन्द्र घिमिरे-बेलायत, नेत्र तिम्सिना-मलेसिया, शैल रुपाखेती-जर्मनी, धनप्रसाद पण्डित-इजरायल, जंगप्रसाद चौहान-रुस, सनिल नेपाल-स्पेन, रमेशचन्द्र पौडेल-कतार, नरेशविक्रम ढकाल-साउदी र दुर्गावहादुर सुवेदी,जापान छन् ।
उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि उनले बताएका छन् ।
काठमाडौँ : नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनप्रति व्यक्त गरेको अभिव्यक्तिमाथि प्रश्न उठेको छ ।
बैठकमा सहभागी केन्द्रीय सदस्य युवराज बास्कोटाले ओलीको अभिव्यक्तिप्रति असहमति जनाउँदै जेनजी पुस्ताले उठाएका मुद्दाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका हुन् । बिहीबार बैठकमा बोल्दै बास्कोटाले भने, ‘जेनजी कुनै राजनीतिक दल होइन, यो पुस्ता विशेषको आकाङ्क्षा हो, जसले तत्कालीन सत्ताविरुद्ध सडकमा आवाज उठायो । यद्यपि आन्दोलनका क्रममा केही हिंसात्मक क्रियाकलाप भए पनि त्यसको आधारमा पूरै पुस्तालाई दोष दिन मिल्दैन।’
‘जेनजी आन्दोलनकारीलाई गाली होइन, तिनले उठाउँदै आएका समसामयिक मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसलाई भड्काउनु हुँदैन र भड्किन दिनुहुँदैन । यो हाम्रो निर्णायक भोट बैङ्क पनि हो।’ बास्कोटाले भने, ‘सुशासनको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रताको सवाल आफ्नै नेतृत्व भएका बेला उठ्नु भनेको आत्म समीक्षा आवश्यक भएको सङ्केत हो।’
फरक प्रसङ्गमा उनले भने ‘पार्टीमा बृहत् एकता, खँदिलो एकता र साँच्चिकै एकमना एकता चाहने हो भने पार्टी केन्द्रीय कमिटीको पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढङ्गले पार्टी काममा फर्कन पाउनुपर्ने विषयमा ध्यान दिनुपर्छ । हिजो लिएको निर्णयमा पुनः विचार गरिनुपर्छ ।’
महाधिवेशनको सन्दर्भमा नेतृत्व हस्तान्तरणका लागि उत्तराधिकारी तयार गर्नु नेतृत्वको कुशलता बताउँदै उनले महाधिवेशनसम्म पुग्दा अध्यक्ष कमरेड अभिभावकको भूमिकामा बस्न ओलीलाई सुझावसमेत दिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका सदस्यहरूलाई एकै ठाउँमा राखेर छलफल गरेकी थिइन् ।
सो छलफलमा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हातमा छाड्न नहुने बताइन् ।
‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू महंगा सुनका घडी लगाएर हिँड्छन् । गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं ।’
अहिलेकै सरकारले यो समस्या समाधान नगरे अरु कसैले पनि नगर्ने उनको भनाइ थियो । सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ थियो ।
‘हामीले नगरे कसले गर्ने ? यही सरकारले गर्छ । पीडित चाहीँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्यो चाहीँ सुकिलो मुकिलो भएर हिँड्ने । यस्तो हुन हुँदैन,’ प्रधानमन्त्रीले भनेकी छिन्, ‘यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ ।’
झापा- झापाको गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्नेे क्रममा डुबेर बिहीबार दिउँसो तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ ।
त्यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद् बैठकबाट गर्ने तयारी छ । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ ।
सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहान लगायत छन् ।
यसैगरी मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायत पनि सरकारले फिर्ता बोलाउन लागिएका राजदूहरुको सूचीमा रहेको स्रोतले बतायो ।
केही राजदूतहरूलाई फिर्ता हुने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको स्रोतले बतायो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासबाट बुद्ध मूर्तिको चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले लामालाई काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनको डेरामा गरिएको खानतलासीका क्रममा चोरी भएको बुद्ध मूर्तिसहित गणेशको मूर्ति र एउटा शंख पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, लामाले गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देउवाको घरबाट ती सामग्री लुटेको आशंका गरिएको छ । उक्त दिन विभिन्न माग राखी युवाहरूको एक समूहले देउवा निवासअगाडि प्रदर्शन गरेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका लामालाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । प्रहरीले चोरी र अन्य सम्भावित संलग्नताका विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई राहत दिँदै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ । यो नयाँ मूल्य आजदेखि देशभर लागू भएको छ । यद्यपि, डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूची अनुसार, अब काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा देशका अन्य क्षेत्रमा १५६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
चाडपर्वको मुखमा उपभोक्तालाई पर्न सक्ने आर्थिक भारलाई मध्यनजर गर्दै निगमले मूल्य घटाउने निर्णय गरेको हो । ‘इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य बढेर आए पनि चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम उपभोक्तामा पर्ने चाप कम गर्न र मूल्य स्थिरता कायम गर्न यो कदम चालिएको हो,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने उतारचढाव अनुसार मूल्य समायोजन गर्दै आएको थियो । हालको मूल्य घटाउने निर्णयले दशैँ, तिहारजस्ता ठूला चाडपर्वमा यात्रा गर्ने र दैनिक जीवनमा पेट्रोलको प्रयोग गर्ने लाखौँ उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ ।
काठमाडौं । गत भदौ २४ गते संघीय राजधानीसहित देशभर भएको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीमाथि धरपकड नगर्न गृह मन्त्रालयले दिएको निर्देशनपछि सुस्ताएको प्रहरी कारबाही गौरीबहादुर कार्की आयोगको स्पष्टीकरणसँगै पुनः सक्रिय भएको हो ।
आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने बताएपछि प्रहरीले अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको छ । प्रदर्शनका क्रममा बन्दुक तेर्स्याउँदै गरेको भाइरल तस्बिरमा देखिएका राजु परियार (सम्राट) लाई उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको छ । प्रहरीका अनुसार, परियारले सर्वोच्च अदालतमा ड्युटीमा रहेका प्रहरीले छाडेको हतियार लिएर गएको बयान दिएका छन्, यद्यपि उनले हतियार नेपाली सेनालाई बुझाएको भनाइको कुनै प्रमाण भेटिएको छैन ।
एसएसपी रमेश बस्नेतका अनुसार, प्राविधिक विश्लेषणका आधारमा प्रहरीले आन्दोलनलगत्तैदेखि परियारको खोजी गरिरहेको थियो । परियारको आपराधिक पृष्ठभूमि पनि सार्वजनिक भएको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग, ठगी र अभद्र व्यवहार लगायतका दर्जनौं मुद्दा दर्ता छन् । आन्दोलनको आडमा पटके अपराधीहरूले मौकाको फाइदा उठाएको देखिन्छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ‘जेनजी’ को नाममा कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार, शाहीले विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर केरकार गर्ने र युट्युबरका साथमा गएर कर्मचारीको राजीनामा माग्ने गरेका थिए । नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका कर्मचारीले उनको गतिविधिबारे गुनासो गरेपछि प्रहरीले अनुसन्धान थालेको हो ।
शाही पनि वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपी रहेको खुलेको छ । उनलाई यसअघि पनि कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । इलाम २ को उपचुनावमा उम्मेदवार बनेका शाहीको आपराधिक संलग्नताले आन्दोलनको आवरणमा हुने आपराधिक क्रियाकलापलाई थप प्रस्ट पारेको छ ।
महाराजगन्जमा खटिएका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न आरोपमा २८ वर्षीय युवराज क्याप्छाकी र २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) विरुद्ध बुधबार अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दुवै जनाविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा सजाय माग दाबी गरेको छ ।
प्रहरीको बयानमा, आन्दोलनकारीले प्रहरी जवान थापालाई कार्यालयबाटै लछारपछार गर्दै बाहिर ल्याएर भाटभटेनी सुपर मार्केट पछाडिको सडकमा लाठी, रड, चिर्पट, इँटा, ढुंगा लगायतका हतियारले अन्धाधुन्ध प्रहार गरेको उल्लेख छ । प्रहरीले संकलन गरेको कल डिटेल रेकर्ड र सरकारी वकिलको रोहबरमा आरोपित तामाङले दिएको बयानले घटनामा उनीहरूको संलग्नता पुष्टि गरेको छ । असई होमबहादुर विकले आफू लगायतका प्रहरी अधिकारीहरूले कार्यालयको माथिल्लो तलामा बसेर नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारका लागि गुहार मागेको बयान दिएका छन् । २४ भदौमा प्रहरी प्रभाग, कोटेश्वरमा प्रहरी सहायक हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो ।
प्रहरीले टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गर्ने भारतीय नागरिक निरज पोद्दार, दोलखाका लक्ष्मण थामी र काठमाडौंका सजन तामाङलाई पनि पक्राउ गरेको छ । उनीहरू कार्यालयबाट लुटिएको हतियारसहित प्रदर्शनमा उत्रिएका थिए । सरकारले आन्दोलनको नाममा भएको अराजकता र आपराधिक गतिविधिलाई शून्य सहनशीलता अपनाउने रणनीति लिएको छ ।
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । यसैबीच बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।
आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८मा ठेक्का सम्झौता गरेको थियो । ६वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
आयोजनाले पटक—पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।
सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण वहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।