डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति हुन थालेको छ। कुल बक्यौताको २८ किस्तामध्ये पहिलो भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पछिल्लोपटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो। तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही पहिले नै लाइन काटिएको थियो। डेडिकेटेड र ट्रंकलाइन महसुल बक्यौताका कारण मात्र अब कुनै पनि उद्योगमा लाइन काटिएको अवस्था नरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी बताए।
प्राधिकरणले गत असोज १२ गते पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्यदिनको समय दिएको थियो। सो सूचना अनुसार १३ औद्योगिक ग्राहकले बक्यौता तिरेका थिए भने नतिरेका २५ उद्योगको लाइन काटिएको थियो।
प्राधिकरणले कात्तिक ४ गते मुख्य ठूला ६ उद्योगको लाइन काटेको थियो। कात्तिक ७ गते राति बाँकी उद्योगको बिजुली आपूर्ति काटेको थियो।
काटिएका तीनमध्ये दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नै भुक्तानी गरेका छैनन् भने उद्योग पनि पहिले नै बन्द थिए । त्यस्तै निगमले सिमेन्टले आफ्नो ट्रान्सफर्मर मर्मत नगरी उद्योग नै बन्द गरेको छ।









