२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

देउवा, ओली र प्रचण्डका घरको खरानी परीक्षण हुँदै

काठमाडौं । भदौ २४ मा भएको जेनजी आन्दोलनले देशका प्रमुख सत्ता–प्रशासन केन्द्रहरूलाई नै ठप्प बनाउनेगरी आगजनी मच्चिएपछि घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले व्यापक अनुसन्धान थालेको छ। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतदेखि शीतल निवास र मन्त्री क्वार्टरसम्म फैलिएको आगलागीले राज्यका अत्यन्त संवेदनशील संरचना क्षतिग्रस्त बनेपछि अनुसन्धानको दायरा झनै बढाइएको हो।

उपत्यकाका २२८ भवनमा आगजनी भएको प्रहरी तथ्यांककाे विवरणले राजधानीमै उग्र रुप लिएको प्रदर्शनका कारण कति ठूलो क्षति पुगेको संकेत गर्छ। पाँचवटै न्यायालय भवन जलेर नष्ट हुनु आपराधिक समूह अत्यन्त योजनाबद्ध रूपमा सक्रिय रहेको प्रमाणका रूपमा हेरिएको छ।

आगो निभाउन घण्टौँ लागेको कतिपय भवनमा पेट्रोल–डिजेल मात्र प्रयोग गरिएको हो कि अन्य कुनै रसायन मिसाइएको हो भन्ने आशंका उठेपछि प्रहरीले जलेका संरचनाबाट संकलित खरानीको वैज्ञानिक परीक्षण गराएको थियो। सामाखुशीस्थित विधिविज्ञान प्रयोगशालाबाट प्राप्त प्रतिवेदनले कुनै अस्वाभाविक रसायन फेला पार्न सकेन भने प्रहरीले अझै सुनिश्चितता लिन नमुना भारत पठाउने तयारी गरिरहेको छ।

अनुसन्धान टोलीका एक सदस्यका अनुसार, प्रदर्शनका नाममा गरिएको विनाशकारी आगजनी योजनाबद्ध थियो भन्ने बुझाई बलियो हुँदै गएको छ, तर रसायन प्रयोगबारे उपलब्ध प्रमाणले हालसम्म फरक निष्कर्ष देखाएको छैन।

उता, काठमाडौं प्रहरीले आगजनी तथा तोडफोडसम्बन्धी १०४ उजुरी दर्ता गरेको छ। तिनै उजुरीका आधारमा २६७ जनालाई पक्राउ गरिएको छ भने ११३ जनामाथि थुनामा राखेर अनुसन्धान भइरहेको छ। केही धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।

काठमाडौंमा मात्र ४९ जनाको मृत्यु भएको र देशभर मृत्यु संख्या ७६ पुगेको तथ्यले आन्दोलन कति हिंस्रक बनेको थियो भन्ने देखाउँछ।

यसबीच प्रहरीले राजनीतिक नेतृत्वका घरहरूमा भएको आगजनीको पनि फरक ढंगले छानबिन थालेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूका जलेका घरबाट संकलित खरानीको परीक्षण भइरहेको छ।

यी घरमा आगो लगाउँदा स्रोत नखुलेका रकम तथा कागजातसहित विशेष रसायन प्रयोग भएको हुनसक्छ भन्ने आशंका पनि प्रहरी वृत्तमा छ। अपराध अनुसन्धान विभागले विशेष टोली बनाएर परीक्षणलाई संवेदनशील रूपमा अघि बढाइरहेको छ।

वैज्ञानिक परीक्षणको विस्तृत प्रतिवेदन आएपछि मात्र यी आगजनीहरू आकस्मिक थिए कि योजनाबद्ध ठूलो आपराधिक रणनीतिका हिस्सा थिए भन्ने खुल्ने प्रहरी अधिकारीहरूको भनाइ छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।