
काठमाडौं– सुनको मूल्य शुक्रबार फेरि २ लाख ५० हजार रुपैयाँ नाघेको छ । हिजो घटेको सुनका मूल्य आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । भदौ २४ मा भएको जेनजी आन्दोलनले देशका प्रमुख सत्ता–प्रशासन केन्द्रहरूलाई नै ठप्प बनाउनेगरी आगजनी मच्चिएपछि घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले व्यापक अनुसन्धान थालेको छ। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतदेखि शीतल निवास र मन्त्री क्वार्टरसम्म फैलिएको आगलागीले राज्यका अत्यन्त संवेदनशील संरचना क्षतिग्रस्त बनेपछि अनुसन्धानको दायरा झनै बढाइएको हो।
उपत्यकाका २२८ भवनमा आगजनी भएको प्रहरी तथ्यांककाे विवरणले राजधानीमै उग्र रुप लिएको प्रदर्शनका कारण कति ठूलो क्षति पुगेको संकेत गर्छ। पाँचवटै न्यायालय भवन जलेर नष्ट हुनु आपराधिक समूह अत्यन्त योजनाबद्ध रूपमा सक्रिय रहेको प्रमाणका रूपमा हेरिएको छ।
आगो निभाउन घण्टौँ लागेको कतिपय भवनमा पेट्रोल–डिजेल मात्र प्रयोग गरिएको हो कि अन्य कुनै रसायन मिसाइएको हो भन्ने आशंका उठेपछि प्रहरीले जलेका संरचनाबाट संकलित खरानीको वैज्ञानिक परीक्षण गराएको थियो। सामाखुशीस्थित विधिविज्ञान प्रयोगशालाबाट प्राप्त प्रतिवेदनले कुनै अस्वाभाविक रसायन फेला पार्न सकेन भने प्रहरीले अझै सुनिश्चितता लिन नमुना भारत पठाउने तयारी गरिरहेको छ।
अनुसन्धान टोलीका एक सदस्यका अनुसार, प्रदर्शनका नाममा गरिएको विनाशकारी आगजनी योजनाबद्ध थियो भन्ने बुझाई बलियो हुँदै गएको छ, तर रसायन प्रयोगबारे उपलब्ध प्रमाणले हालसम्म फरक निष्कर्ष देखाएको छैन।
उता, काठमाडौं प्रहरीले आगजनी तथा तोडफोडसम्बन्धी १०४ उजुरी दर्ता गरेको छ। तिनै उजुरीका आधारमा २६७ जनालाई पक्राउ गरिएको छ भने ११३ जनामाथि थुनामा राखेर अनुसन्धान भइरहेको छ। केही धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।
काठमाडौंमा मात्र ४९ जनाको मृत्यु भएको र देशभर मृत्यु संख्या ७६ पुगेको तथ्यले आन्दोलन कति हिंस्रक बनेको थियो भन्ने देखाउँछ।
यसबीच प्रहरीले राजनीतिक नेतृत्वका घरहरूमा भएको आगजनीको पनि फरक ढंगले छानबिन थालेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूका जलेका घरबाट संकलित खरानीको परीक्षण भइरहेको छ।
यी घरमा आगो लगाउँदा स्रोत नखुलेका रकम तथा कागजातसहित विशेष रसायन प्रयोग भएको हुनसक्छ भन्ने आशंका पनि प्रहरी वृत्तमा छ। अपराध अनुसन्धान विभागले विशेष टोली बनाएर परीक्षणलाई संवेदनशील रूपमा अघि बढाइरहेको छ।
वैज्ञानिक परीक्षणको विस्तृत प्रतिवेदन आएपछि मात्र यी आगजनीहरू आकस्मिक थिए कि योजनाबद्ध ठूलो आपराधिक रणनीतिका हिस्सा थिए भन्ने खुल्ने प्रहरी अधिकारीहरूको भनाइ छ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ। दुवै टिम आजको खेल जित्नैपर्ने दबाबमा छन्।चितवन कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।
दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन्। चार खेलमा विराटनगरले एक खेल मात्र गुमाएर ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ। विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली पाँचौं स्थानमा छ। विराटनगरका लागि थप सम्भावना भए पनि कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ।
कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । चारमा एक खेल गुमाएको विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छ।
समान चार अंक भएका चितवन र काठमाण्डु तेस्रो र चौथो स्थानमा छन् । समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् भने अंकबिहीन जनकपुर तालिकाको पुछारमा छ ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।
काठमाडौं । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको शुभारम्भ गरेका छन् । सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ ।
त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप्स् पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ ।
कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनले जोड दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सको प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्ने बताए । सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाले एम्बुलेन्सको प्रयोगबाट ३६५ दिन र २४सै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत सम्भार गरी सहज आवागमन सुनिश्चित प्रदान गर्न सकिने उल्लेख गरे ।
एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिनेछ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भिडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिनेछ ।





