काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा बढोत्तरी भएको छ । विशेषगरी चाँदीको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ भने सुनको मूल्य पनि आफ्नो उच्च बिन्दु नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य अघिल्लो दिन (बुधबार) को तुलनामा ७ सय रुपैयाँले बढी हो । बुधबार बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत सोमबार मात्रै सुनको भाउले हालसम्मकै उच्च बिन्दु (प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ) छोएको थियो । आजको मूल्य सो ऐतिहासिक रेकर्डभन्दा मात्र ३ सय रुपैयाँले कम हो ।
यस्तै, चाँदीको भाउले भने बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद–बिक्री भएको थियो । पछिल्लो दुई दिनयता चाँदीले लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेको छ ।







