काठमाडौं। राजधानी काठमाडौंको मुटु मानिने नयाँ सडक (न्युरोड)को प्रवेश पुल, जसलाई पार गरेर दिनहुँ हजारौँ मानिस हिँड्छन्, सरकारी भीभीआईपी सवारी कुद्छन्, व्यापार फस्टाउँछ, लाखौंको हिसाबकिताब हुन्छ । त्यही भीडको छायाँमा एउटा जीवन मौन रूपमा हराइरहेको थियो ।
न कुनै नाम थियो, न आवाज । न हात चल्थ्यो, न खुट्टा । बोल्न नसक्ने, हिँड्न नसक्ने, आफ्नै पीडालाई व्यक्त गर्न नसक्ने एक असक्त शरीर वर्षौँदेखि पुलछेउमा मागेर जिउँदै थिए, वा भनौँ, जिउँदो भएर पनि मरेतुल्य बाँचिरहेका थिए ।
शरीरभरि घाउ थिए । घाउ मात्र होइन, ती घाउबाट जीवन आफैँ झर्दै थियो । मासु कुहिएको थियो, हातखुट्टाको संवेदना हराएको थियो, शरीरबाट त्यत्तिकै दुर्गन्ध आइरहेको थियो । न खाने निश्चितता, न ओढ्ने, न हेर्ने कोही । मान्छेहरू दिनहुँ उही बाटो हिँड्थे, सायद देख्थे पनि । तर देखेर नदेखेजस्तै गर्थे । उनी समाजको आँखामा ‘बेवारिसे’ बनेका थिए ।
यही मौन पीडाको बीचमा एकदिन मानवताको आवाज उठ्यो । एकजना समाजसेवी सम्झना घिमिरेले उनको त्यो अवस्था देखेर खबर गरेपछि नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक डाक्टर सुनील शर्माले त्यो खबरलाई सामान्य सूचना मानेनन् । उनले त्यो आवाजलाई जीवनको पुकार ठाने ।
उनकै निर्देशनमा समय खेर नफाली एम्बुलेन्स पठाइयो । पुलछेउमा अलपत्र परेको त्यो शरीरलाई सम्मानका साथ अस्पताल ल्याइयो, जहाँ कुनै बोझ नभएर पहिलोपटक उनलाई ‘बिरामी’ भनेर सम्बोधन गरियो ।
अस्पताल पुग्नेबित्तिकै उपचारको पहिलो चरण सुरु भयो — सरसफाइ । वर्षौँको मैलो, घाउमा जमेको पीडा, शरीरमा जमेका उपेक्षा र फोहोर बिस्तारै पखालियो । नुहाइयो, घाउ सफा गरियो, संक्रमण नियन्त्रणमा लिइयो । त्यो केवल शारीरिक सरसफाइ थिएन, एउटा जीवनलाई फेरि मानिस बनाउने प्रक्रिया थियो ।
त्यसपछि सुरु भयो उपचार । घाउको उपचार, पोषण व्यवस्थापन, संक्रमण नियन्त्रण, आवश्यक औषधि र निरन्तर निगरानी । बोल्न नसक्ने भए पनि उसका आँखाले प्रतिक्रिया दिन थाले। पीडाको सट्टा आशाको चमक देखिन थाल्यो । डा.सुनिल शर्माले सम्पूर्ण निःशुल्क,औसधि उपचार खान सबै निसुल्क गर्ने व्यवस्था मिलाइदिए , किनकि मानवता मूल्यसँग साटिँदैन ।
आज उनको अवस्थामा सुधार देखिँदैछ । घाउ सुक्दैछन्, शरीरले उपचार स्वीकार गर्न थालेको छ । सबैभन्दा ठूलो कुरा— अब उनी एक्लो छैनन् । उनलाई हेर्ने आँखा छन्, छोइने हात छन्, बुझ्ने मन छन् ।
यो कथा केवल एउटा व्यक्तिको उद्धारको कथा होइन । यो समाजलाई ऐना देखाउने कथा हो, जहाँ एउटा अस्पताल केवल भवन होइन, एउटा आश्रय बन्न सक्छ । जहाँ एउटा चिकित्सक केवल पेशेवर होइन, भगवान् बनेर उदाउन सक्छ । र जहाँ ‘बेवारिसे’ भनिएको जीवन पनि मायाको स्पर्श पाएपछि फेरि बाँच्न थाल्छ ।
नयाँ सडकको त्यो पुल आज पनि उस्तै व्यस्त छ । तर त्यहाँबाट हराएको एउटा मौन पीडा आज अस्पतालको एक शैयामा आशाको सास फेर्दैछ । यही हो मानवीयताको विजय। जहाँ उपचारले मात्र होइन, करुणाले जीवन बचाउँछ ।
अनि त्यो जीवनदाता बनेर उदाएका छन् डाक्टर सुनील शर्मा ।
डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन, देशभर उत्तिकै लोकप्रिय छन् ।








