बारामा लोकतान्त्रीक गठबन्धन बलियो,बामगठबन्धनलाई निस्तेज बनाउन फोरम र राजपासंग ब्यापक छलफल ।

0
1134

कार्तिक ८ काठमाण्डौं । २०७० सालमा भएको संविधान सभा निर्वाचनमा बारा जिल्लाको ६ वटा क्षेत्रमध्ये कांग्रेस र एमालेले ३.३ सिटमा जितेका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा आइपुग्दा यी दुबै दलले जिल्लाका अधिकांश स्थानीय तह जितेका छन्। बाराका दुई उपमहानगरमध्ये कलैया कांग्रेसले जितेको छ भने जितपुर–सिमरा एमालेले जित्यो।

स्थानीय तहको निर्वाचनमा बाराका ४ क्षेत्रका वडाहरुको मत जोड्दा कांग्रेस र एमाले २–२ स्थानमा अगाडि छन्।

कांग्रेससँग मिसिएको नेपाल लोकतान्त्रिक फोरम मत पनि जोड्दा भने ४ वटै क्षेत्रमा एमालेभन्दा कांग्रेस बलियो देखिन्छ। उसले एक्लै एमाले–माओवादी गठबन्धनसँग भने प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन। कांग्रेस–राजपा–फोरमको गठबन्धन बन्दा भने बाराका चारै क्षेत्रमा वाम गठबन्धनलाई चुनाव जित्न निकै कठिन हुने देखिन्छ।

क्षेत्र नम्बर १
बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस अगाडि छ। यो क्षेत्रमा बारागढी, सिम्रौनगढ नगरपालिका लगायत स्थानीय तह पर्छन्। यो क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहका वडामा नेपाली कांग्रेसले २० हजार ७१ मत ल्याएको छ। दोश्रोमा रहेको एमालेले १८ हजार ७२ मत पाएको छ।

यहाँ माओवादी केन्द्रले ८ हजार २ सय ७३ मत ल्याएको छ। फोरमले ६ हजार ८ सय ८३ र राजपाले ६ हजार २ सय ५६ ल्याएको छ। यो क्षेत्रमा एमाले–माओवादीको मत २६ हजार ३ सय ४५ छ। राजपा–फोरमको मत १३ हजार १ सय ३९ छ। कांग्रेस–राजपा–फोरमको मत जोड्दा ३३ हजार २ सय १० हुन्छ।

क्षेत्र नम्बर २
क्षेत्र नम्बर २ मा पनि कांग्रेस नै बलियोे छ। कांग्रेसको मत १४ हजार ५ सय ६ छ। यहाँ संघीय समाजवादी फोरमको १२ हजार ७ सय ४२ मत छ। माओवादी केन्द्रको १० हजार ३ सय ५६, एमालेको ९ हजार ४सय ५९ मत छ। राजपाको ८ हजार ७ सय ४२ मत र लोकतान्त्रिक फोरमको ९ सय ३३ रहेको छ।

यो क्षेत्रमा कोल्हवी नगरपालिका, सुवर्ण गाउँपालिका लगायतका स्थानीय तह पर्छन्। यो क्षेत्रका वडामा एमाले–माओवादी मत जोड्दा १९ हजार ८ सय १५ रहेको छ। राजपा–फोरमको मत जोड्दा २१ हजार ४ सय ५४ हुन आउँछ।

एमाले–माओवादीभन्दा राजपा–फोरम गठबन्धन यो क्षेत्रमा बलियो देखिएको छ । कांग्रेसको समेत मत जोड्ने हो भने ३६ हजार २ सय २० हुन्छ।