बाम गठबन्धनमा जताततै बागी, आउला त दुई तिहाई ?

0
266

कार्तिक १७ काठमाण्डौं । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरु मनोनयन दर्ता गर्ने क्रममा बिहीबार जिल्ला निर्वाचन कार्यालय उदयपुरमा वाम गठबन्धनका उम्मेदवारहरु विरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, उदयपुरका अनुसार वाम गठबन्धनविरुद्ध गठबन्धनकै सातजनाभन्दा बढी नेताहरुले बागी उम्मेदवारी हालेका हुन् । उदयपुरको प्रतिनिधिसभाका लागि क्षेत्र नमबर २ मा नेकपा माओवादी केन्द्रका तर्फबाट गठबन्धनबाट आधिकारिक टिकट पाएका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराँती विरुद्ध एमालेका वैकल्पिक केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र माओवादी केन्द्र, उदयपुरका अध्यक्ष विनोद कटुवाललेसमेत बागी उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, क्षेत्र नम्बर २ को ताप्ली सुनकोशी उदयपुरगढी प्रदेश क्षेत्रका लागि वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार टिकट पाएका भेषकुमारी राउतविरुद्ध माओवादी केन्द्रकै जिल्ला नेता नारायण बुर्जा र एमालेका होमप्रसाद दाहालले बागी उम्मेदवारी हालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यता प्रदेशका लागि त्रियुगा नगर क्षेत्रबाट वाम गठबन्धनबाट आधिकारिक टिकट पाएका उम्मेदवार रामबहादुर थापाविरुद्ध माओवादी केन्द्रका जिल्ला नेता मीनबहादुर ठकुरी र जीवन कार्कीसमेत बागी उम्मेदवार बनेको वाम गठबन्धनका प्रवक्ता ईश्वरमणि राउतले बताउनुभयो ।

जिल्लाको बेलका चौदण्डी क्षेत्रमा वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार बनेका एमाले जिल्ला नेता बिमल कार्कीविरुद्ध एमालेकै जिल्ला नेता कुशलबाबु बस्नेतले बागी उम्मेदवारी हालेका छन् । उदयपुरमा वाम गठबन्धनको तालमेल भएअनुसार जिल्लामा प्रदेशको चार र केन्द्रको दुई सिटमा आधा–आधा बराबरी भाग लगाएर उम्मेदवार निर्धारण गरेको भए पनि एकले अर्काविरुद्ध बागी हालेपछि वाम गठबन्धन संकटमा आएको स्वयं एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत र माओवादी केन्द्रका जिल्ला नेता राजन किराँतीले बताउनुभयो ।

बिहीबारको दिनभरिमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नगरे उदयपुरमा गठबन्धनको औचित्य समाप्त हुने र गठबन्धनका आधिकारिक उम्मेदवारहरु पराजय हुने समेत जिल्लाका पुराना वाम नेता ज्ञानबहादुर बस्नेतले बताउनुभयो । उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश र केन्द्र गरेर ६४ जना उम्मेदवारको नाम दर्ता भएको छ भने १६ राजनीतिक दलले सहभागिता जनाएका छन् ।