
काठमाडौँ । बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ-आफ्नो गृह जिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको हो ।
ट्राफिक प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए ।
“निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्म जारी रहनेछ,” उनले भने, “सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ ।”
यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ । शाहका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएको छ ।
“सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार सवारीसाधनको चाप व्यवस्थापनका लागि नजिकका प्रहरी इकाइसँग समन्वय गरी निगरानी बढाइएको छ,” ट्राफिक प्रहरी नायब उपरीक्षक शाहले भने, “निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले समेत यातायात व्यवस्थापनमा आवश्यक सहयोग गरिरहेको छ ।”
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ । साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था जाँच गर्न र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।
भदौ २४ गतेको जेनजी आन्दोलनमा राज्यका महत्त्वपूर्ण निकायमा तोडफोड र आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उपत्यका भित्रका प्रहरी कार्यालय, अदालत र सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू विरुद्ध मुद्दा दायर गरेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।
त्यस्तै, सर्वोच्च अदालतमा आगजनी गर्ने सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध पनि मुद्दा दायर भएको छ। उनीहरूलाई आपराधिक उपद्रो मच्चाएको अभियोग लगाइएको छ ।
सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो। जाहेरीका आधारमा गरिएको अनुसन्धानपछि उनीहरूसँग सम्बन्धित मुद्दा दायर गरिएको हो।
अभियोग पत्र अनुसार उनीहरुले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
त्यसैगरी, प्रहरी वृत्त बौद्धमा तोडफोड गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा दायर गरिएको छ। प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ।
प्रतिवादीहरूलाई सरकारी वकिल कार्यालयले हाजिर जमानीमा रिहा गरेको छ । अब उनीहरूसँग म्याद जारी गर्नका लागि अदालतमा प्रक्रियाको कुरा गरिएको अधिकारीले जानकारी दिएका छन् ।
सरकारी वकिल कार्यालयले विष्णुप्रसाद ढुंगोलविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरेको छ। उनलाई घटनास्थलमा उपस्थित भएको भिडियो र अन्य प्रतिवादीहरूले पोल नगरेको कारण मुद्दा नचल्ने निर्णय गरिएको हो ।
काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार (फागुन १९) बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । अदालतले आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र लिखित जवाफसहित प्रसाईंलाई इजलाससमक्ष उपस्थित गराउन निर्देशन दिएको छ ।
प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।
प्रसाईंलाई फागुन १७ गते भक्तपुरबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध निर्वाचन बिथोल्न खोजेको आरोप लगाइएको छ ।
अदालतले प्रसाईंलाई उपस्थित गराएपछि थुनामुक्त गर्ने वा नगर्ने विषयमा निर्णय लिने जनाएको छ । प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका थिए । उनले फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने घोषणा समेत गरेका छन् ।
काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण अलपत्र नेपालीको विवरण संकलन तथा आवश्यक सहयोग एवं उद्धारका लागि सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
इजरायल-अमेरिका र इरानबीचको हवाई हमलापछि मध्यपूर्वी देशहरूमा रहेका नेपालीका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।
उनीहरूको अवस्था सम्बन्धी सूचना संकलन तथा आवश्यक परेको खण्डमा उद्धार गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।
युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कतार, साउदी अरब लगायत देशमा रहेका नेपालीका लागि विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।
यो लिंकमार्फत विभागले सम्बन्धित देशमा रहेका नेपालीको विवरण संकलन थालेको हो । त्यसका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूले नेपालीलाई यथाशीघ्र विवरण अद्यावधिक गर्न अनुरोध गरेका छन् ।
पहिलो चरणमा विभिन्न देशबाट नेपाल फर्कने क्रममा सम्बन्धित देशका विमानस्थलमा अलपत्र परेका व्यक्ति, भिसा समाप्त भइसकेका वा कम्पनीबाट भिसा क्यान्सिल गरी नेपाल फर्कन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपालीलाई पोर्टल मार्फत आफ्नो व्यक्तिगत विवरण, सम्पर्क ठेगाना र अवस्था सम्बन्धी जानकारी प्रविष्ट गर्न अनुरोध गरिएको छ ।
त्यसरी अनलाइन पोर्टल मार्फत जानकारी दिएपछि सम्बन्धित निकायले समन्वय गरी आवश्यक सहयोग गर्न सकिने छ ।
मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण यूएई लगायत खाडी क्षेत्रमा रहेका नेपाली श्रमिक तथा यात्रुमा चिन्ता बढिरहेका बेला सरकारले पोर्टल मार्फत व्यवस्थित रूपमा तथ्यांक संकलन र उद्धार समन्वय पहल थालेको हो ।
सम्बन्धित देशमा रहेका दूतावासले आपतकालीन अवस्थाका नेपालीलाई अफवाहमा नलागी आधिकारिक च्यानल मार्फत मात्र सम्पर्क गर्न अनुरोध गर्दै आएका छन् ।
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।
निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरे ।
धनुषा निर्वाचन क्षेत्र नम्बर-१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो ।
आयोगको १८ फागुनको निर्णयले उनको उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो ।
सो पत्र आयोगले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको अधिकृत बरालले बताए ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका- ९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरेको हो ।
भुम्डोल बस्दै आएका उनीबाट राइफल र एसएलआरको ४ राउण्ड गोली, प्लाष्टिक राउण्ड २ वटा, सट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले बताए । उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।
काठमाडौँ । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या बढेको छ । उपत्यकाबाट गाउँ फर्किने मानिसहरूको भीड बढेको हो ।
कोटेश्वर, जडीबुटी, नयाँबसपार्क र नाकामा क्षेत्रमा बिहानैदेखि मानिसहरूको भीड लागेको छ । मतदानका लागि यसपटक साढे आठ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।
विराटनगर । नेपाली सेनाको बम डिस्पोजल टोलीले मोरङ र ताप्लेजुङमा फेला परेका दुई शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको छ।
मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७, डाँफे चोकमा गए राति कालो प्लास्टिकको पोकाभित्र शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरिएको थियो। सुरक्षा घेरा कायम गरी उक्त क्षेत्रलाई नियन्त्रणमा लिएपछि आज बिहान ०६:५४ बजे उक्त वस्तु निष्क्रिय गरिएको सेनाले जनाएको छ।
यसैगरी, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३, पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा आज बिहान ०९:१० बजे कालो टेपले बेरिएको अर्को शंकास्पद वस्तु फेला परेको थियो। जानकारी प्राप्त हुनासाथ हाङपाङ सुरक्षा वेशमा तैनाथ बम डिस्पोजल टिमसहितको फौज परिचालन गरी उक्त वस्तु १२:०१ बजे सुरक्षित रूपमा निष्क्रिय गरिएको सेनाले जनाएको छ ।
निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना अन्तर्गत कोशी प्रदेशका सम्पूर्ण जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टिम तैनाथ गरिएको छ। साथै, सम्बन्धित क्षेत्रमा कुनै शंकास्पद वस्तु देखा वा फेला परेमा नजिकैका सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पूर्वी पृतना हेडक्वाटरले सर्वसाधारणमा अपिल गरेको छ।
घटनामा कुनै मानवीय क्षति नभएको र स्थिति सामान्य रहेको सेनाले स्पष्ट पारेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिएका हुन्।
उनले सूचनामार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।’
उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराएका हुन्।
सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गरेको छ।
काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ‘मौन अवधि’ सुरु गरेको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।
मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारका सम्पूर्ण गतिविधिमा पूर्ण रोक लगाइएको छ । यस समयमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता लगायतका सबै सरोकारवालाहरूले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रचारप्रसार र सभा/सम्मेलनमा पूर्ण बन्देज : निर्वाचन आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, सम्मेलन, कार्यशाला, गोष्ठी वा अन्तरक्रिया गर्न पाइने छैन । मतदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गरी गरिने जुलुस, प्रदर्शन वा कुनै पनि किसिमका राजनीतिक जमघटमाथि प्रतिबन्ध लगाइएको छ ।
सामाजिक सञ्जाल र डिजिटल माध्यममा निगरानी : यस पटकको निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुन सक्ने प्रचारप्रसारलाई रोक्न आयोगले कडा नीति अख्तियार गरेको छ । फेसबुक, ट्विटर (एक्स), टिकटक, भाइबर जस्ता सामाजिक सञ्जाल वा अनलाइनका माध्यमबाट कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री सम्प्रेषण गर्न पाइने छैन । दलका भातृ संगठनहरूले पहिले नै पोस्ट गरेका विज्ञापन तथा प्रचार सामग्रीहरू समेत यो अवधिमा हटाउनुपर्ने प्रावधान छ ।
भोजभतेर र होहल्ला गर्न नहुने : मौन अवधिमा बाजागाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर आयोजना गर्न वा मतदातालाई प्रलोभनमा पार्ने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ । मतदान केन्द्र वरपरको शान्ति भङ्ग हुने गरी कुनै पनि किसिमको हुलहुज्जत, होहल्ला वा त्रास सिर्जना गर्ने कार्य गरेमा कानुन बमोजिम कारबाही हुने आयोगले चेतावनी दिएको छ ।
प्रचार सामग्री हटाउन निर्देशन : मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका ब्यानर, झण्डा र अन्य प्रचारप्रसारका सामग्रीहरू ४८ घण्टा अगावै हटाइसक्नु पर्नेछ । साथै, साउण्ड सिस्टम, एसएमएस वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट मत माग्ने कार्यलाई पूर्णतः रोक लगाइएको छ ।
मतदानमा बाधा पुर्याउन नपाइने : मतदानको दिन मतदान केन्द्रमा खटिएका कर्मचारी वा मतदातालाई कुनै पनि प्रकारको बाधा–अवरोध पुर्याउन नहुने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान नसकिँदासम्म मतदान केन्द्र वरपरको वातावरण पूर्णतः शान्त र सुरक्षित राख्न आयोगले सबैमा अपिल गरेको छ ।
निर्वाचन आयोगले मौन अवधिको सूक्ष्म अनुगमन गरिरहेको र आचारसंहिताको उल्लंघन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । निर्वाचनको अन्तिम घडीमा सबै पक्षलाई जिम्मेवार बन्न र लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन समेत आग्रह गरिएको छ ।





