काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा (एमाले)माथि फागुन २१ गते सम्पन्न चुनावमा ठुलो झड्का लागेको हो ।
अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस र एमालेका सभापति र अध्यक्षसहित सबै पदाधिकारी पराजित भएका छन् । कांग्रेस सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता डा. अमरेशकुमार सिंहसँग १२ हजार बढी मतान्तरले पराजित भएका छन् ।
उता एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रास्वपाकै वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग करिब ५० हजार मतान्तरले पराजित भएका छन् ।
त्यसैगरी कांग्रेका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पराजित हुँदा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेलसमेत रास्वपासँगै पराजित भएका छन् ।
यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मात्र एक्लो जित निकाल्ने शीर्ष नेता बनेका छन् । उनका सहयात्री एवम् नेकपाका सहसंयोजक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमेत पराजित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत पराजित हुँदा काठमाडौं उपत्यकामा सधैभर आफ्नो जित निकाल्दै आएको भक्तपुर १ को नेपाल मजदुर पार्टीलेसमेत आफ्नो गढ छोड्नु परेको छ । लगातार संसदमा देखिँदै आएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल रास्वपासँगै पराजित भएका छन्।









