काठमाडौँ । बिहीबार सिंहदरबारमा शपथ लिन पुगेका नवनिर्वाचित सांसदहरूको दृश्य रोचक र नौलो देखियो । शपथ लिन पुगेका अधिकांश पुरुष सांसदहरू दौरा सुरुवालमा सजिएका देखिन्थे भने केही आफ्नै जातीय पहिचान झल्किने पोशाक लगाएर पुगेका थिए।
त्यसैमध्येका एक थिए–रास्वपा सांसद रहबर अन्सारी । अन्सारी अरू भन्दा भिन्न पोशाकमा सिंहदरबार पुगेका थिए । उनी स्कुल ड्रेस(विद्यालय पाेशाक)मा शपथ ग्रहण समारोहमा झोला बोकेर पुगेका थिए । अनि हातमा थियो–नेपालको संविधान।
आकाशे रङकाे सर्ट र निलाे पाइन्टमा बुबासँगै सिंहदरबार पुगेका अन्सारीलाई विद्यालय पोशाक लगाएकोबारे सञ्चारकर्मीले प्रश्न सोधिहाले । जवाफमा अन्सारीले भने, ‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो । आज मेरो ७४ वर्षको बुवाले मलाई सङ्घीय संसद् भवनमा ल्याउनुभएको छ ।’
अन्सारीले सम्पूर्ण अभिभावकका लागि आफूले सम्मान गर्ने मौका पाएको भन्दै सफलता र समृद्धि विद्यालयबाट सुरु हुने बताए ।
‘आज यो खुसीको माहोलमा सबैभन्दा ठुलो अंशियार बुवा र शिक्षकहरू हुन् भन्ने सन्देश दिन चाहन्छु । मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो’, अन्सारीले भने । रहबर बारा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।









