किन आकर्षीत हुन्छन् म्यादी प्रहरीमा महिला ? कारण यस्तो छ ।

0
481

कार्तिक २५ काठमाण्डौं । चुनावका लागि अस्थायी रुपमा काम गर्ने म्यादी प्रहरीमा भर्ना हुन युवती तथा महिलाहरुको आकर्षण यसपटक बढ्दो रुपमा देखिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।
छोटो समयका लागि भएपनि सरकारी जागिर पाउने भएकाले म्यादी प्रहरीमा काम गर्न पुरुषजस्तै आफूहरु पनि आकर्षित भएको तालिम लिइरहेका महिलाहरुले बताएका छन्।
प्रदेश र प्रतिनिधिसभा चुनावको सुरक्षाका लागि अहिले २२ हजार महिला म्यादी प्रहरी भर्ना भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीमा जागिर खाने रहर मेट्न २६ वर्षिया निर्मला भुजेल बच्चाहरुलाई खाना तयार गरेर बिहान सात बजे नै काठमाण्डूको महाराजगञ्जस्थित एक चौरमा म्यादी प्रहरीको तालिम लिन पुग्छिन्।

एक निजी कम्पनीमा खाइरहेको सुरक्षाकर्मीको जागिर छोडेर म्यादी प्रहरीको तालिम लिन आएकी भुजेल दिनहुँ दुईपटक गरी झन्डै पाँच घण्टा शारीरिक तालिम गर्दा रमाइलो लागिरहेको बताइन्।उनले भनिन्, ू प्रहरीमा जागिर खाने रहर थियो। तर उमेरका कारणले अब खान पाउन्नँ त्यसैले म्यादी प्रहरी बनेर त्यो रहर मेट्न खोजेकी हुँ। त्यही भएर होला मलाई तालिम पनि रमाइलो लागि रहेको छ।ू
सुकेधारा निवासी १९ वर्षिया सदीक्षा लामीछानेले केही महिनाअघि सम्पन्न भएको स्थानीय चुनावमा पनि म्यादी प्रहरीको जागिर खाएकी थिइन्।
हाल उनी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा म्यादी प्रहरीका लागि दिइरहेको तालिम लिंदैछिन्।

अस्थायी प्रहरी बनेर कमाएको पैसाले यो क्षेत्रमा आकर्षित गरेको लामिछानेले बताइन्।
यसका साथै म्यादी प्रहरीको तालिमले पछि सुरक्षा निकायमा जागिर खान सजिलो हुने उनले बताइन्।
प्रहरीका अनुसार प्रदेश र प्रतिनिधिसभा चुनावको सुरक्षाका लागि करिब ९८ हजार म्यादी प्रहरी भर्ना भएका छन्, जसमध्ये २२ हजार भन्दा बढी महिला रहेका छन्।
हाल भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवान सरह ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता पाउने नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले बताए। उनका अनुसार म्यादी प्रहरीले पोशाक भत्ता स्वरुप ४ हजार पनि पाउने छन्।
म्यादी प्रहरीहरुको १२ दिने तालिम सोमबार सकिँदै छ।
त्यसपछि उनीहरु निर्वाचन स्थलमा खटिने छन्।
निर्वाचन पश्चात् भने उनीहरुको जागिरको म्याद सकिने छ।
तर म्यादी प्रहरीको तालिममा उत्साहजनक रुपमा सहभागिता जनाइरहेका अधिकांश युवती तथा महिलाहरु सुरक्षा निकायहरुमा दीर्घकालीन रोजगारीका लागि इच्छुक पाइएका छन्।