काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान तीव्र बनेसँगै विवादास्पद व्यापारी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टलाई सोमबार कालोसूचीमा राखिएको हो । सम्बन्धित अधिकारीहरूका अनुसार उनी भाग्ने सम्भावना देखिएकाले उक्त निर्णय गरिएको हो। अब भट्टले विदेश यात्रा गर्नुअघि सरकारको स्वीकृति लिनुपर्नेछ ।
अध्यागमनको कालोसूचीमा परेसँगै भट्टको विदेश यात्रा स्वतः रोकिएको छ । यस्तो सूचीमा परेका व्यक्तिहरूले सम्बन्धित निकाय वा नेपाल सरकारको पूर्व अनुमति बिना देश बाहिर जान पाउँदैनन् ।
भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन् । उनीमाथि सत्ता–शक्तिमा रहेका राजनीतिक दलका नेता तथा सार्वजनिक पदाधिकारीसँग निकट सम्बन्ध बनाएर सार्वजनिक खरिद, जलविद्युत् आयोजना, बैंक तथा बिमा कम्पनीका लाइसेन्स र कर नीतिमा प्रभाव पार्ने प्रयास गरेको आरोप लाग्दै आएको छ ।
२०७९ मंसिरदेखि नै उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका थिए । त्यसक्रममा २०७९ पुसमा प्रारम्भिक बयान समेत लिइएको थियो । तर त्यसबेला अनुसन्धान दबाइएको आरोप लाग्दै आएको थियो । पछिल्लो राजनीतिक परिवर्तनसँगै उक्त फाइल पुनः सक्रिय बनाइएको स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू)ले २०७९ मै भट्टसँग सम्बन्धित शंकास्पद आर्थिक कारोबारबारे विवरण पठाएको थियो । विवरणअनुसार उनको खातामा अर्बौँ रुपैयाँ बराबरको असामान्य कारोबार भएको देखिएको छ, जसले थप अनुसन्धान आवश्यक भएको संकेत गरेको थियो ।
भट्ट र उनी आबद्ध कम्पनी इन्फिनिटी होल्डिङ्समाथि सुरक्षा निकायका लागि हतियार खरिद, जलविद्युत् आयोजना, कर छुट तथा वित्तीय नीतिमा प्रभाव पार्ने लगायतका विभिन्न विवादित प्रकरणमा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ ।







