काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले २०८३ बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले बैठकले पार्टीले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको छ ।
त्यस्तै, रास्वपाको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरालाई नियुक्त गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी पार्टी उपसभापति तथा हाल सम्माननीय सभामुख डीपी अर्यालसँग रहेको थियो।
अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएकाले उक्त पद रिक्त रहेको थियो।









