निर्वाचन आयुक्त यादवद्वारा सुरक्षाको व्यवस्था सुदृढ बनाउन सरकारलाई पुनः निर्देशन

0
238

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई पुनः निर्देशन दिएको छ ।
उम्मेदवारहरुमाथि देशका विभिन्न भागमा बम प्रहार भईरहेका बेला प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको सुरक्षा व्यवस्थालाई अझै सुदृढ बनाउन सरकारसँग पुनः निर्देशनात्मक आग्रह गरेका हुन् । उनले निर्वाचनका उम्मेदवार र आम मतदातालाई समेत आफ्नो सुरक्षाप्रति सजग र सचेत रहन पनि अपिल गरे ।
बुधबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले आफ्नो सुरक्षाको व्यवस्था आफैले गर्न आम मतदातालाई सुझाव दिए । ‘निर्वाचनमा भाग नलिएका केही भूमिगत राजनीतिक दलहरुले निर्वाचनविरोधी गतिविधि संचालन गर्न सक्नेतर्फ पनि सरकार र निर्वाचन आयोग सचेत रहनुपर्छ’ आयुक्त यादवले बताए ।
निर्वाचन आयोगले हिमपातका कारण मतदानमा असर पर्न नदिन पनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई सचेत गराएको छ । प्रमुख निर्वाचन आयुक्त डा. यादवले कतिपय ठाउँमा हितपातका कारण मतदानमा भाग लिन सक्ने अवस्था नभए वैकल्पिक व्यवस्था गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको पनि स्पष्ट पारे ।
निर्वाचन आयोगले आगामी मंसीर १० गते ३२ वटा जिल्लामा हुने पहिलो चरणको निर्वाचनमा लागि आवश्यक जनशक्तिको व्यवस्थापनको काम पनि बुधबारबाट सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइएको र त्यसलाई अझै व्यापक बनाउन सबै राजनीतिक दलहरुको ध्यानाकर्षण समेत गराए ।