२०८३ भाद्र २१ गते आईतवार
२०८३ भाद्र २१ गते आईतवार

१५ बुँदे मागसहित वैदेशिक रोजगार व्यवसायीले रोके श्रमिक पठाउने काम

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत जटिलता र अव्यवहारिक व्यवस्था सुधारको माग गर्दै श्रमिक पठाउने कार्य स्थगित गर्ने घोषणा गरेको छ ।

संघले शुक्रवार पत्रकार सम्मेलन गदै वर्तमान परिस्थितिलाई ‘शून्य समय’ मानेर नीतिगत सुधार नभएसम्मका लागि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । देशको अर्थतन्त्रमा रेमिट्यान्सको माध्यमबाट ६४ प्रतिशत घरधुरीलाई समेट्दै विदेशी मुद्रा सञ्चिति र व्यापार घाटा न्यूनीकरणमा ठुलो योगदान पुर्‍याएको यस क्षेत्रलाई राज्यले बेवास्ता गरेको संघको आरोप छ ।

मानवीय संवेदनशीलतासँग जोडिएको यस व्यवसायलाई नीतिगत अस्पष्टताका कारण मर्यादित र सम्मानित बनाउन नसकिएको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए । संघले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि सरकारसमक्ष १५ बुँदे माग प्रस्तुत गरेको छ ।

संघका अध्यक्ष खत्रीले श्रमिकको पारदर्शी लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारणसहित वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्न माग गरिएको बताए । संघका मुख्य मागहरूमा विशेष परिस्थितिमा सरकारले गरेको निर्णय पालना गर्दा कारबाहीमा परेका ५९८, ३९ र १२४ इजाजत पत्रवाला संस्थाहरूको कारबाही अभिलम्ब फिर्ता हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, युरोपका विभिन्न मुलुक, दक्षिण कोरियाको ई-७ भिसा, जापानको एसएसडब्लु कार्यक्रम र महिला घरेलु कामदारको मानपत्र प्रमाणीकरणलाई सहज र सुचारु गर्नुपर्ने माग गरे ।

संघले हवाई भाडदारमा हुने कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, मानपत्र प्रमाणीकरण र श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित प्रणालीमा लैजानुपर्ने र ५ हजारभन्दा बढी नेपाली श्रमिक रहेका मुलुकमा अनिवार्य रूपमा श्रम सहचारीको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

यसैगरी, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियाको श्रमिक भर्ना प्रक्रियामा देखिएका एकाधिकार र बिचौलियाको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ । नयाँ इजाजतपत्र वितरणमा रोक लगाई निश्चित मापदण्डका आधारमा मात्र इजाजत दिने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

वित्तीय व्यवस्थापनतर्फ व्यवसायीले राखेको नगद धरौटीको ब्याज व्यवसायीलाई नै उपलब्ध गराउनुपर्ने र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था गरी ‘क्यासलेस’ वातावरण सिर्जना गर्नुपर्ने संघको अडान छ ।

खत्रीले नीतिगत सुधार पश्चात् मात्र व्यवसायीहरू पुनः काममा फर्कने प्रतिबद्धता जनाउँदै आफ्ना मागहरू अविलम्व सम्बोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आग्रह गरे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।