राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भनिन्छ, तर नेपाली कांग्रेसमा अचेल स्थायी गुन र गुनको बदला पदको नयाँ अध्याय सुरु भएको छ। नेपाली राजनीतिको एउटा विशाल खम्बा, शान्ति प्रक्रियाका नायक र किङमेकर मानिने कृष्णप्रसाद सिटौलालाई एकाएक राष्ट्रिय सभाको दलको नेताबाट गलहत्याइएको छ। उक्त स्थानमा बिशेष महाधिबेशनमा मुख्य भूमिका खेल्ने काभ्रेका मधु आचार्यको श्रीमतीलाई संसदीय दलको नेता बनाएर गगनले गुन तिरेका छन् ।
हो, कांग्रेस सभापति गगन थापाले पार्टीको आन्तरिक बिसातमा यस्तो गोटी चालेका छन्, जसले अनुभवी सिटौलालाई पाखा मात्र लगाएको छैन, बरु आफ्नालाई काखा गर्ने राजनीतिको नयाँ मानक स्थापना गर्न उद्यत देखिएका छन् ।
जुन नेताले गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बनेर माओवादीलाई जंगलबाट बालुवाटार ल्याए, जसले संविधान सभाबाट गणतन्त्रको खाका कोरे र जसले संकटको समयमा कांग्रेसको ट्रबल शुटर बनेर भूमिका खेले, आज तिनै कृष्णप्रसाद सिटौला आफ्नै दलभित्र दुधमा परेको झिंगा जसरी फ्याँकिएका छन्।
सिटौलालाई हटाउने निर्णयले धेरैलाई अचम्मित तुल्याएको छ। नेपाली राजनीतिको एउटा कालखण्डका किङमेकर मानिने कृष्णप्रसाद सिटौलाको भूमिका कांग्रेस र देशकै लागि अविस्मरणीय छ। उनी केवल एक नेता मात्र होइनन्, उनी नेपालको परिवर्तनकारी इतिहासको एउटा जीवित दस्तावेज हुन्।
माओवादीलाई जंगलबाट संसदसम्म ल्याउने र १२ बुँदे समझदारीको खाका कोर्ने मुख्य योजनाकारमध्ये उनी एक हुन्। २०७२ को संविधान जारी गर्ने बेला मस्यौदा समितिको सभापतिका रुपमा उनले देखाएको धैर्यता र सुझबुझ आजको व्यवस्थाको जग हो।
तर, राजनीति निर्मम हुन्छ। हिजोका दिनमा गिरिजाप्रसाद कोइरालाका प्रिय पात्र र पार्टीका संकटमोचक सिटौला आज आफ्नै दलभित्रको आन्तरिक समीकरणका कारण पछारिनु पर्यो।
गणतन्त्रका यी मस्यौदाकारलाई यसरी अपमानजनक ढंगले बिदाइ गरिनुले कांग्रेसभित्रको पुस्तान्तरणको लडाइँ कति निर्मम छ भन्ने प्रष्ट पारेको छ।
कमला पन्तको नियुक्ति केवल एउटा साधारण नियुक्ति होइन। यसको भित्री कथा गगन थापाको निर्वाचन क्षेत्र र उनलाई संकटमा सघाउने शक्तिशाली हातहरुसँग जोडिएको छ। चुनावको कठिन मोडमा गगनलाई काँध थाप्ने आफ्नै प्रिय मित्र मधु आचार्यकी श्रीमतीलाई राष्ट्रिय सभाको बागडोर सुम्पिनुले गगनले पार्टीभित्र आफ्नो कोर टिमलाई कसरी सुरक्षित र पुरस्कृत गर्दैछन् भन्ने सन्देश दिएको छ।
अनुभवको पहाड र इतिहासका साक्षी सिटौलालाई पाखा लगाउँदै गगन थापाले आफ्ना विश्वासपात्रलाई अगाडि सारेर कांग्रेसको भावी नेतृत्वमा आफ्नो दाबेदारीलाई अझै मजबुत बनाएका छन्।









