बालक अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण गरे संगीतकार टंक बुढाथोकीले । उनीहरुबीच बाबुछोराजस्तै सम्बन्ध थियो । तर अहिले आएर यो सम्बन्धमा गम्भीर फाटो आएको छ ।

बुढाथोकीले हिजो सञ्चारकर्मीहरूसँग यो विषयमा पहिलो पटक खुलेर बोले । ‘झिंगेदाउ २’ चलचित्रको प्रिमियरमा पुगेका टंक बुढाथोकीलाई युट्यूबरहरुले घेरेर असान्दर्भिक विषय कोट्याएका थिए । बुढाथोकीले पनि मनको भँडास सबै पोखिदिए ।
अशोक दर्जीसँग अहिले आफ्नो बोलचाल र सम्पर्क नरहेको उनले स्वीकार गरे ।

उनले निकै असन्तुष्ट भावमा भने, ‘बोलचाल पनि छैन, केही पनि छैन मसँग । यति कुरा क्लियर हुनु । दाइसँग (टिका बुढाथोकी पनि त्यहीँ थिए) बोल्छन् । दाइलाई फोन गर्छन् अथवा के गर्छन् । मसँग अशोक दर्जीको उसको आइरहेको फिल्म (पार्वती) को टाइमदेखि हेलो-हाई र केही पनि छैन । यसमा लुकाएर लुक्ने केही कुरा छैन ।’
बुढाथोकी यतिमा रोकिएनन् । उनले अब जिन्दगीमा कसैलाई सहयोग नगर्ने अप्रिय घोषणा समेत गरे ।
‘यति कुरा क्लियर हुनु, म लाइफमा कसैलाई सहयोग गर्दिन अब,’ उनले भने ।
त्यसो त बुढाथोकीको ठूलो रिस चाहिँ अशोक दर्जीभन्दा बढी सामाजिक सञ्जालका फलोअर्ससँग रहेछ । अधिकांशले कमेन्टमा आफूलाई हमेशा ‘अशोक दर्जीलाई युज गरेको’ आरोप लगाएको भन्दै उनले चित्त दुखाए ।
उनले कटाक्षयुक्त भाषामा भने, ‘हो, मैले उसलाई गीत गाउन सिकाउन युज गरेँ । उसलाई मैले बोल्न सिकाएर युज गरेँ । मैले उसलाई एक्टर बनाएर युज गरेँ । करोडौँ खर्च गरेर फिल्म बनाइदिएर हिरो बनाएँ, युज गरेँ । अब म युज गर्दिनँ । म लाइफमा कसैलाई सहयोग पनि गर्दिन ।’
टंक र अशोकको सम्बन्ध बिग्रिनुको कारण चाहिँ टंकका दाजु टिका बुढाथोकीले खोले । उनका अनुसार अशोकले सुरुमा पढाइ सकेर नेपाली सेनामा जागिर खाउन् भन्ने टंक चाहन्थे । तर अशोकले फरक बाटो समातेपछि आफूहरूलाई करिअरको चिन्ता भएको उनको भनाइ छ ।
‘भाइले उसलाई पहिले एसइई सकेर सेनामा जागिर खावस् र लाइफ सेटल होस् भन्ने चाहेको थियो र त्यही सल्लाह दिएको थियो । गीत-संगीतको काम त सेनाको जागिर खाएरै पनि गर्न सकिन्छ भनेको थियो । अशोकले चाहिँ अहिल्यै केही गर्छु भनेर आफ्नो हिसाबले अगाडि बढ्यो । हामीलाई चिन्ता भनेको उसले पढाइ बीचमै छोडेकोमा हो,’ उनले प्रष्ट्याए ।
‘मन विनाको धन २’ मा अशोक दर्जीलाई नराखिएको प्रसंगबाट कुराकानी सुरु भएको थियो । युट्यूवर र टंक बुढाथोकीबीचको पुरा सवाल जवाफ यस्तो छ:
‘मन विनाको धन २’ ठूलोमा अशोक दर्जीलाई नराखिएकै हो त ?
हो । यसमा उनी छैनन् । २ हजार प्रतिशत छैनन् ।
खासमा तपाईँहरूको सम्बन्ध किन बिग्रिएको हो ?
एउटा सडकको बच्चालाई हिरो बनाइदिएर मैले गल्ती गरेँ । मलाई जतिसुकै जे कमेन्ट गरे पनि हुन्छ, जे भने पनि हुन्छ । जीवनमा टंक बुढाथोकीले अब कसैलाई पनि यसरी ‘यूज’ गर्दैन । अशोक मात्र हैन कसैलाई पनि ।
एउटा बच्चालाई मैले ‘हिरो’ बनाइदिएँ । त्योभन्दा अरू-अरु उसको कार, एरोप्लेनवाला सपना चाहिँ म पूरा गर्न सक्दिनँ । त्योभन्दा ठूला सपनाहरू म आफ्नै छोराको त सक्दिनँ ।
अन्तिममा उनले चाहे भने फेरि जोडिन सम्भव छैन ?
सम्भव नै छैन । असम्भव छ । किनभने मैले पनि आफ्नो परिवार, आफ्नो छोराछोरी… यो समाजको कमेन्ट सुन्दासुन्दा आठ वर्षमा म अति नै भइसकेँ । प्रयोग गर्यो, प्रयोग गर्यो, प्रयोग गर्यो, प्रयोग गर्यो । समाजले नै जोड्देको सम्बन्ध थियो, समाजले नै सम्बन्धलाई तोड्दियो ।
कतिपयले अशोकको अरबौँ रुपैयाँ थियो, अब टंकले फिर्ता गर्नुपर्छ भने जस्ता पनि कमेन्ट गरिरहेका छन् नि ?
अँ हो हो । त्यस्ताहरू रहेछन् । मेरो बैंक एकाउन्ट हेर्दा, यताउति सब हेर्दा त्यस्तो देखियो भने फिर्ता गर्न कुनै ठूलो कुरो भएन ।
अशोक भाइको पार्वती लागिरहेको छ । तपाईँले हेर्नुभयो ?
मैले फिल्म हेरेको छैन । म सुटिङमा छु । आज अलिकति ब्रेक मिलाएर यो ज्ञानेन्द्र दाइको रिक्वेस्टले गर्दा म यहाँ आएको हुँ ।
केही शुभकामना सन्देश त दिनुभयो होला नि ?
सधैँ शुभकामना छ नि । बाबुले राम्रो गरिरहेका छन्, अझ राम्रो हुन्छ, राम्रो होस् । उसलाई सधैँ शुभकामना । मैले भनेकै थिएँ, जबसम्म आफ्नो खुट्टामा उभिने छैनन्, तबसम्म म साथ दिनेछु । अब आफ्ना खुट्टामा उभिइसकेका छन् भनेपछि अब मसँग त्यस्तो पहिलाको जस्तो साथ हुनेछैन ।
फादर्स डे पनि अस्ति भर्खर गयो, बाबुले तपाईँलाई त बुवा नै मान्नुहुन्थ्यो, शुभकामना दिनुभयो कि भएन ?
केही पनि भएन ।
अनि चित्त दुखाइ कत्तिको हुन्छ ?
किन चित्त दुखाउने ? उ मेरो छोरा हो र ? मेरो छोराले शुभकामना दियो भइहाल्यो नि ।
तपाईँलाई खासमा के कुराले बढी आहत बनाएको छ ?
अशोकको भन्दा पनि जनताले प्रयोग गर्यो, प्रयोग गर्यो…भन्ने सुन्दा सुन्दा म वाक्क भइसकेँ । सडकबाट उठाएर ल्याएर आज आफ्नो खुट्टामा उभिएर खाने बनाइदिएँ । तर देशविदेशदेखि सबैतिर युज गर्यो, युज गर्यो भनिरहेका छन् । कहिलेसम्म सुन्ने ? अब त मेरो छोरोले पनि कमेन्ट पढ्न थालिसक्यो । मेरो छोरो पनि ठूलो भयो । उसले पनि उसको बुवाको लागि लेखेका कमेन्टहरू पढेर चित्त दुखाउने बेला हुन थालिसकेछ ।
सुरुमा अशोक टंकसँग छुट्टिए भन्ने हल्ला भएको थियो । उहाँ आफैँ निस्किनुभएको हो कि अरू केही भएको थियो ?
सबै अन्तर्वार्ताहरू आइरहेका छन् हैन, त्यो मैले भन्नै पर्दैन । अन्तर्वार्तामा उसले सबै कुरा बोलिरहेको छ । अशोकले सबै अन्तर्वार्तामा भनिसकेको छ । फेरि फेरि मैले यसको आन्सर दिनु जरुरी छैन ।
अब च्वाट्टै हात छोड्नै भएको हो त ? सहकार्य हुँदै हुँदैन ?
सहकार्य हुन सक्छ तर ‘मन बिनाको धन २’ मा चाहिँ भएन । अब म यो यूज गर्यो भन्नेवाला कमेन्ट सुन्न चाहँदिनँ । पछि फेरि जनताले नै टंक बुढाथोकीले अशोकलाई काम दियोस्, अर्को फिल्ममा हालोस् भनेर मलाई प्रतिक्रिया आयो भने हुन सक्छ ।
अशोकले तपाईँसँग अनुमति लिएर नै पार्वतीमा अभिनय गरेको हो ?
मेरो त्यस्तो अनुमति-सनुमति केही पनि छैन । मबाट गइसकेका छन् उनी । अब उनले मसँग अनुमति लिने, सोध्ने ती दिनहरू, ती कुराहरू सबै सकिएका छन् । म उसको गार्जियन थिएँ, अब होइन । थिएँ, अब त्यो सम्बन्ध त्यहीँसम्म थियो । अबको सम्बन्ध भयो भने व्यावसायिक सम्बन्ध हुन्छ ।
अशोकजीले कुटाइ खाएको भिडियो सार्वजनिक भयो । टंकले किन हात छोड्यो, किन हेरेन भन्ने प्रश्नहरू पनि आएको थियो । त्यो समयमा तपाईँको के थियो रिप्लाई ?
त्यो समयमा म केही बोलिनँ । म आज मात्रै बोलेको हो । बोलेर कामै छैन । मैले जे गरेँ, जे बोले पनि यूजै गर्यो भन्ने हो । यूज गर्न छोडेँ के, दिक्क भइसकेँ अब । हुँदाहुँदै एआर (टंकको छोरा) सँगको फोटोमा पनि गाली आइराख्या छ । अब म यस्तो सहँदिनँ के ।
एआरले अब यो कमेन्टहरू पढ्न थालिसक्यो । अब एआर बुझ्न थालिसक्यो । एउटा सडकको बच्चालाई हिरो बनाइदिएर मैले गल्ती गरेँ ।
गल्ती गरेकै महसुस भएको हो त ?
अँ गल्ती गरेँ । अनि त्यो मैले कमेन्ट पाइरहेको छु नि त यूज गर्यो भनेर । यूज गर्नु भनेको त गल्ती हो । मलाई गल्ती गरेको महसुस गराइदिनुभएको छ दर्शकहरूले । त्यो कारणले गर्दा यस्तो गल्तीहरू अब जीवनमा म कसैलाई पनि गर्दिनँ ।










