प्रचण्ड फेरि कांग्रेसबाट सहयोग माग्दै

0
306

मंसिर १ , चितवन । राष्ट्रियरुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक अर्काको गठबन्धनको मत तान्न लागि परेका छन् ।

पूर्वप्रधानमन्त्री  प्रचण्ड कांग्रेस फकाउँदै छन् भने पाण्डे एमाले फकाउँदै छन् । कांग्रेस र एमालेबाट सो क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवार छैनन् । आफ्नो गठबन्धन बाहिरको मत तान्न सकेमा जित सुनिश्चित हुने भन्दै उनीहरु एक अर्काको गठबन्धनबाट मत तान्न लागि परेका हुन् ।

कांग्रेस निकट बुद्धिजीवी प्रा डा सूर्यकान्त घिमिरे माओवादी अध्यक्ष दाहालकी पुत्री रेनुलाई भरतपुर महानगरमा प्रमुख बनाउँदा कांग्रेसको सहयोग रहेकाले पुनः सहयोग मिल्न सक्ने अपेक्षा प्रचण्डको रहेको बताउँछन्नु । तर, कांग्रेस झन बढी चिढिएकाले प्रचण्डको त्यो अपेक्षा पूरा हुने सम्भावना कमै रहेको घिमिरे बताउँछन् ।

कांग्रेसले चुनावमा राप्रपाका उम्मेदवार पाण्डेलाई चुनाव चिह्न रुख लिन आग्रह गरेका थिए । पाण्डेले एमालेको मत पनि आफूले पाउने भएकाले त्यो अस्वीकार गरेका कारण स्थानीय निर्वाचनमा रुष्ट बनेका एमालेका केही मत पाण्डेले पाउन सक्ने घिमिरे बताउँछन् ।

वाम बुद्धिजीवी रमाकान्त सापकोटाले प्रचण्डले कांग्रेसबाट पाउने मत र पाण्डेले एमालेबाट पाउने मत बराबर नै हुने बताउँछन् । परिणाम भविष्यवाणी गर्न नसकिए पनि गठबन्धनको मत यताउता जाने संख्या बराबरी नै हुने उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा चिढिएको एमालेले निर्वाचन पेचिलो हुने हुँदा निर्वाचनको दिनसम्ममा दाहाललाई मतदान गर्ने उनले बताए । भरतपुर महानगरपालिकाको निर्वाचनमा पराजित बनेका एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले प्रचण्डको चुनावी प्रचारमै छन् ।