नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।
मंगलवार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्ने निर्णयमा हस्ताक्षर गरे । उनले संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै शुन्यबाट अगाडि बढ्ने बताए । उनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले भने, ‘यो नयाँ मन्त्रालयका भएको हुनाले यो मन्त्रालयको ओएनएम गर्नै बाँकी छ । अब ओएनएम गरेर के कसरी अगाडि बढ्ने भन्ने कुरामा जिरोबाट अगाडि बढ्नुपर्ने हुन्छ । हामीले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि रातदिन भनेर काम गर्ने हो । म नागरिकलाई पनि के भन्न चाहान्छु भने म यो पदमा धेरै दिन बस्दिन । म तीन वर्ष मन्त्री भएर खाने हो त्यसपछि नयाँ युवा भाईलाई दिने हो ।’
मन्त्री पुनले आफू तीन वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताए ।










