ताप्लेजुङको याङ्‍मामा १६ मत खस्दा मतदान सकियो

0
252

मंसिर १०,काठमाण्डौं – ताप्लेजुङको सबैभन्दा टाढाको मतदान स्थल याङ्मामा १६ मत खसेको छ। ५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्मामा ४१ जना मतदाता अनुपस्थित भएका छन्।

गाउँमा रहेका मतदाता सबैले भोट खसालेपछि याङ्मामा दिउँसो तीन बजेनै मतदान सकिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। चार हजार दुई सय मिटर उचाईमा रहेको गाउँका अधिकांश मतदाता गाउँ भन्दा बाहिर रहेका कारण कम भोट खसेको वडाध्यक्ष छेतेन शेर्पाले बताए। मतदान सकिएपनि पाँच बजेसम्म कर्मचारी कुरेर बस्ने शेर्पाको भनाइ छ।

प्रजिअ जिसीका अनुसार याङ्माको मतपत्र भोली हेलिकप्टरबाट सदरमुकाम ल्याइने छ। यो चीनको तिब्बत र भारतको सिक्किमसँग सीमा क्षेत्र जोडिएको क्षेत्र हो। जहाँ पुग्न जिल्ला सदरमुकामबाट पैदल हिँडेर तीन दिनमा पुगिन्छ।