
सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलले इजलासले अन्तरिम आदेश जारी गरेको हो । सरकारले उच्च सार्वजनिक ओहदामा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेको थियो । उक्त आयोग गठनका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चले यो मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश समेत जारी गरेको छ ।
सर्लाहीमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको सर्लाही प्रहरीले जानकारी दिएको छ।
उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
सर्लाही–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि घटनाका विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
घरायसी विवादका कारण उनले आत्मदाह प्रयास गरेको बताइएको छ।
गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् ।
राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका हुन् ।
संसदमा उठेका प्रश्नहरूको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले मुखले मात्रै सेवाको कुरा गर्ने समय सकिएको बताए । उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ । आफ्नो जनताको सेवा गर्नुपर्छ।’
गृहमन्त्री गुरुङले घटनास्थलमा भएको अवस्थाबारे प्रश्न उठाउँदै स्थानीय र प्रदेश सरकारको भूमिकाबारे पनि ध्यानाकर्षण गराए ।
उनले घटनास्थलमा ट्राफिक प्रहरीले ह्वील लक गरेको विषयमा प्रश्न उठाउँदै त्यसको जिम्मेवारी स्थानीय तहको कानुन र व्यवस्थापनसँग जोडिएको बताए ।
उनले भने, ‘एउटा संघीय सरकार, प्रदेश सरकार र अर्को स्थानीय सरकार हुन्छ । जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ ?’
गृहमन्त्री गुरुङले विपक्षी दलतर्फ संकेत गर्दै स्थानीय र प्रदेश सरकारमा पनि उनीहरूको भूमिका रहेको दाबी गरे । उनले भने, ‘स्थानीय सरकार कसको छ अहिले ? प्रदेश सरकार कसको छ अहिले ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको हो ? तपाईंहरूले बनाएको कानुन हामीले पालना गरेका हौं ।’
संसदमा भावुक हुँदै बोलेका गृहमन्त्री गुरुङले सरकार सञ्चालन केवल भाषणबाट नभई जनताको समस्यामा पुगेर समाधान गर्नुपर्ने बताए । उनले जनताको पीडा बुझ्न आफूहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुग्ने गरेको उल्लेख गर्दै त्यसलाई स्टण्टबाजीको रूपमा नलिन आग्रह गरे ।
गृहमन्त्री गुरुङले अस्पतालमा पुगेर पीडितको अवस्थाबारे जानकारी लिने विषयमा पनि विपक्षी दलका सांसदहरूसँग प्रश्न गरे । उनले घटनापछि अस्पताल पुगेका सांसदहरूको संख्या र भूमिकाबारे जवाफ मागेका थिए ।
उनले भने, ‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा तपाईंहरू कति जना पुग्नुभएको थियो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ, उहाँहरूमध्ये को–को त्यहाँ हुनुहुन्थ्यो ? ’
काठमाडौँ । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ ।
उपचारको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको हो । उनको उनको शरीरको करिब ६५–७० प्रतिशत भाग जलेको थियो ।
मुगुको सोरु गाउँपालिका–१ घर भएका नेपालीले सरकारको कठोर नीतिका कारण आफ्नै शरीरमा आगो झोस्न बाध्य भएका थिए । गणेशले विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले ‘व्हील लक’ लगाइदिएको थियो र चर्को जरिवाना तिराउन खोजेको थियो ।
राइड सेयरिङ एपमार्फत राइडरको काम गरेर परिवार पाल्दै आएका गणेशलाई सरकारले नियम पालनाका नाममा दुःख दिएपछि उनले यस्तो कठोर निर्णय लिन बाध्य भएका थिए ।
पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभे्रपलाञ्चोक-सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
‘वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्डखण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ, विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक उपकरण तम्तयारी अवस्थामा राखिएको छ’, कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।
उनका अनुसार साविककै स्थानमा पुनःनिर्माण भएका अधिकांश खण्डबाट आवागमन भइरहेको छ । यसअघि भने खोलामै अस्थायी डाभइभर्सन बनाइएकाले रोशी खोलाको बहाव बढ्नेबित्तिकै डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने गरेको थियो ।
सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट सवारी चलाइएको छ ।
चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ । क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ ।
विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सवारी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो ।
क्षतिग्रस्त चार खण्डमध्येको खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले गरिरहेको छ ।
जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरिरहेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।
‘पुनःनिर्माण हुने सडकखण्ड दुई लेनको छ । हाल सञ्चालनमा रहेको पुलसँगै अर्को नयाँ पुल निर्माण गरिन्छ’, योगेशले भने । उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ ।
क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोडबराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको अप्रत्याशित घटनामा परी गम्भीर रूपमा जलन भएका मुगु सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले ब्यहोर्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने र थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (एम्स) लैजाने प्रक्रिया अगाडि बढाइएको थियो।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू वीर अस्पताल पुगेर चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थितिबारे प्रत्यक्ष जानकारी समेत लिएका थिए।
सुरुवातमा चिकित्सकहरूले दिएको सुझाव र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले बिरामीलाई हवाई उद्धार (एयर एम्बुलेन्स) मार्फत तत्काल भारत लैजान आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाएको थियो।
उनलाई अस्पतालबाट विमानस्थलसम्म सुरक्षित र कुनै अवरोधबिना छिटो पुर्याउन गृहमन्त्री गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर परिचालन गरेका थिए भने नयाँ दिल्ली विमानस्थलबाट एम्स अस्पतालसम्म पुर्याउने सबै बन्दोबस्त समेत मिलाइसकिएको थियाे।
तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर बनेपछि अन्तिम समयमा आएर भारत लैजाने तयारी तत्कालका लागि स्थगित गरिएको छ। मुटुको धड्कन र रक्तचापमा उतारचढाव आएकाले यस्तो गम्भीर अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको झन् ठूलो जोखिम हुने चिकित्सकहरूले औंल्याएका छन्।
चिकित्सकहरूले बिरामीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान उपयुक्त हुने सुझाव दिएपछि गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू गएरातिदेखि नै वीर अस्पतालमा ‘स्ट्यान्ड बाइ’ अवस्थामा निरन्तर खटिरहेका छन्।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। हाल वीर अस्पतालका वरिष्ठ चिकित्सकहरूको एक विशेष टोली उनको जीवन रक्षाका लागि अहोरात्र खटिएको छ।
अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेको छ। चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन विशेष औषधिहरू चलाएर निरन्तर निगरानी गरिरहेको छ।




