नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकारले यस क्षेत्रमा स्पष्ट महत्वाकांक्षी योजना बनाउनुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्वाकांक्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ । सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन ।’
थापाले सरकारबाहिर पनि दक्ष र अनुभवी जनशक्ति रहेको उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्नुपर्ने बताए ।
‘निजी क्षेत्रमा काम गरिरहेका साथीहरू अत्यन्त सक्षम र अनुभवी हुनुहुन्छ । सरकारले निजी क्षेत्रको योग्यता र क्षमतामाथि भरोसा गर्दै साझेदारीको भावना अपनाउनुपर्छ,’ उनले भने ।
थापाले डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउन सकिने उल्लेख गर्दै यसलाई कुनै एक राजनीतिक दलको नभई साझा राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले यस क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारमा संसद्मा रहेका सबै दलका सांसदहरू सहयोग गर्न तयार रहेको पनि बताए ।
संसदमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले आवश्यक अध्ययन सामग्री र प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउने तयारी गरिरहेको जानकारी पनि थापाले दिए ।









