नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक ई. दीपक बरालले बजारमा हल्ला भएअनुसार एलपी ग्यास अभाव नभएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ग्यास वितरण प्रणालीमा देखिएको समस्याका कारण ग्यास अभाव सिर्जना भएको देखिएको दाबी गरेका हुन् । उनले नेपालमा ग्यासको माग प्रतिमहिना करिव ४७ हजार मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिए ।
उनकाअनुसार सामान्य खपतको तुलनामा करिव ५ प्रतिशत बढी ग्यास नेपाल भित्रिएको छ । उनले विगतमा आधा ग्यास सिलिण्डर वितरण गरिएको र हाल पूर्ण ग्यास वितरण गर्दा समस्या उत्पन्न भएको बताए । ७.१ केजीका सिलिण्डरको आपूर्ति हुँदा उपभोक्ताले खाली सिलिण्डर घरमै थन्क्याउने गरेको र १४.२ केजीका सिलिण्डर आएपछि आवश्यकताभन्दा बढी भर्ने गरेका कारण बजारमा कृत्रिम चाप सिर्जना गरेको उनको दाबी छ ।
उनले निगमले ग्यास डिपोहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न पनि निर्देशन दिएको जानकारी दिए । ग्यास नपाएको गुनासो बढेपछि निगमले टेकुस्थित कार्यालयबाट विभिन्न ग्यास कम्पनीका सिलिन्डर खुद्रा विक्री सुरु गरेको उनको भनाई छ । पछिल्ला तीन दिनमा त्यहाँबाट करिब २ हजार १०० सिलिन्डर मात्रै विक्री गरिएको उनले जानकारी दिए ।
यसले पनि बाहिर बजारमा हल्ला गरिएजस्तो ग्यास अभाव नभएको कुरालाई पुष्टि गर्ने उनको भनाई छ । यद्यपि निगमले ग्यास वितरण प्रक्रियालाई सहज बनाउन बजार अनुगमन लगायतका कार्य गरिरहेको जानकारी दिए । उनले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न आग्रह गरे ।
उनले भने, ‘ग्यास आयातमा समस्या छैन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा अलिकति समस्या हो कि भन्ने हामीले महसुस गरेका छौँ । हामीले भन्सार र इण्डियन आयललाई हामीले पठाएको डाटाहरु पनि हेर्ने हो भने इम्पोर्टमा समस्या छैन, आवश्यक भन्दा ५ प्रतिशत बरु बढिनै आएको छ तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्टको कारण केही समस्या देखियो ।’
उनले अगाडि भने, ‘७।१ केजीको सिलिन्डर विक्री गर्दा मानिहरुले डेली युजको लागि पनि त्यत्ति रुचि नदेखाएर खाली सिलिन्डर होल्ड भइराखेको देखियो । अब १४।२ आएपछि फेरि सहजै ग्यास पाइन्छ भने घरमा खाली छन्, त्यो पनि भरिदिउँ न भन्ने भएको कारण अलिकति चाप बढेको देखिन्छ । हामीले बजार अनुगमनमा जाँदा व्यवसायीहरूले पनि आफ्नो डिलरमार्फत पनि विक्री वितरण गरिराख्नु भएको छ ।’
उनकाअनुसार हाल भारतबाट दैनिक ग्यास बुलेटको लोडिङ बढाइएको छ । तर हल्दिया र दुर्गापुर डिपोमा मर्मत कार्य चलिरहेका कारण टाढाका डिपोबाट ग्यास ल्याउनुपर्दा ढुवानी व्यवस्थापनमा चुनौती थपिएको उनले जानकारी दिए ।
निगमले भारतसँग दैनिक बुलेट लोडिङ बढाउन समन्वय गरिरहेको उनले बताए । उनले अझै १५ दिनसम्म ग्यास वितरणमा केही समस्या देखिन सक्ने बताए ।










