बालगायकको रूपमा चर्चामा आएका अशोक दर्जीले सामाजिक सञ्जालमार्फत एक भावुक स्टाटस लेख्दै आफ्नो वर्तमान अवस्था र आर्थिक अभावबारे खुलाएका छन् ।

जीवनमा धेरै उतारचढाव भोगेको उल्लेख गर्दै उनले आफूसँग अहिले न त पैसा रहेको, न कुनै बैंक ब्यालेन्स नै बाँकी रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै अशोकले आफू अहिले पनि सडककै अवस्थामा रहेको अनुभव सुनाएका छन् ।
‘जीवनमा जे हुनु थियो, धेरै चिज भइसकेको छ । मेरो लाइफमा मैले हार पनि खाएँ, जितें पनि, फेरि लडें पनि । आज म सडकको बच्चा सडकमै छु, मेरो यात्रा दिन त्यस्तै नै छ,’ उनले लेखेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा परिवार र भाइबहिनी कसरी पाल्ने भन्ने चिन्ताले आफूलाई सताएको उनले व्यक्त गरेका छन् । पढ्ने उमेरमा पनि पैसा कमाउनुपर्ने बाध्यता र भोक रहेको उल्लेख गर्दै अशोक लेख्छन्, ‘मलाई अगाडि बढ्नु छ, परिवार–भाइबहिनीलाई पाल्नु छ । अब दसैँ–तिहार आउँदैछ, खर्च कसरी चलाउने ? आउँदै गरेको दिनहरूलाई कसरी टाल्ने ? पैसा कसरी कमाउने ? पढ्नुपर्ने उमेरमा पैसाको भोक छ ।’
गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभई भाग्य भएको उल्लेख गर्दै उनले गरिबको छोरा भएकोमा कुनै दुःख नभएको तर जीवन कष्टकर भने बनिरहेको बताएका छन् ।
आफ्नो हालको आर्थिक स्थितिको यथार्थ सार्वजनिक गर्दै उनले भनेका छन्, ‘आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ । धन्य, एउटा घर छ, जुन हजुरहरूको सहयोगबाट बनेको हो । अनि कसैले दिनुभएको अधिया जग्गा छ ।’
यद्यपि, आफूले हार खान नसिक्ने र आत्मबलका साथ संघर्ष गरिरहने उनले बताएका छन् । समाजले आफूमाथि देखेको सपना पूरा गर्न र समाजकै लागि केही गरेर देखाउन आफू फेरि उठ्ने अठोट उनले व्यक्त गरेका छन् ।
संगीतकार टंक बुढाथोकीसँगको विवादतर्फ संकेत गर्दै उनले आफू धेरै थाकिसकेको र अब आफ्नो जीवनलाई सिधा (स्ट्रेट) तरिकाले अघि बढाउन चाहेको बताएका छन् ।
अब छिट्टै आफ्ना नयाँ गीतहरू लिएर दर्शक–श्रोतामाझ आउने तयारीमा रहेको भन्दै उनले सबैलाई माया र साथ दिन अपिल गरेका छन् ।
‘मैले कसैलाई दोष दिन खोजेको होइन, न त कसैलाई नराम्रो भन्न खोजेको हुँ । यदि मबाट केही गल्ती भएको छ भने मलाई माफ गरिदिनुहोला,’ उनले उल्लेख गरेका छन् ।










